भीमसेन थापा गाउँपालिका–४, चौतारा, सिउडीबार, गोरखा मेरो जन्मथलो पनि हो । जहाँको माटो र हावाले मलाई हुर्कायो । त्यहाँ भएको दर्दनाक घटनाले म अहिले रन्थनिएको छु ।
केही महिनाअघि खुन्ते सुर्खेतीको करेन्ट लागेर भएको दुःखद् मृत्युको घाउ बिर्सिन नपाउँदै बलबहादुर विकको ज्यान पनि त्यही लापरबाहीका कारण गएको छ । यो कुनै संयोग होइन, यो एनसेलको जथाभावी हाइटेन्सन लाइन र नेपाल विद्युत् प्राधिकरणको आपराधिक मौनताको परिणाम हो । यो लापरबाही होइन, सिंगो समुदायमाथिको घात हो । अब यो अन्यायविरुद्ध आवाज उठाउन र दोषीमाथि कठोर कारबाही गर्न ढिलाइ गर्न मिल्दैन ।
एनसेल, एउटा बहुराष्ट्रिय कम्पनी, जसले स्थानीयको जीउज्यानको कुनै वास्ता नगरी हाइटेन्सन टावर र तारहरू गाउँका बस्तीमाथि बिछ्याएको छ । सुरक्षा मापदण्डको खिल्ली उडाउँदै, स्थानीय भूगोल र जनजीवनको जोखिमलाई पूर्णतः बेवास्ता गरिएको छ । यो कसरी जायज हुन सक्छ ? अझै निन्दनीय छ– विद्युत् प्राधिकरणको भूमिका । खुला तार, असुरक्षित संरचना र नियमित निरीक्षणको अभाव यो सबैले प्राधिकरणको जिम्मेवारीहीनता छर्लङ पार्छ । एनसेल र प्राधिकरणको यो गैरजिम्मेवार गठजोडले हाम्रा गाउँलेहरूको ज्यानलाई खेलाँची बनाएको छ । चौतारा, सिउडीबारको यो त्रासदी देशभरिका असुरक्षित विद्युतीय संरचनाहरूको खतरनाक यथार्थ हो । कति जना निर्दोषले ज्यान गुमाउनुपर्ने ? कति परिवारको बिचल्ली हुनुपर्ने ? यो प्रश्नले सरकार, स्थानीय प्रशासन र सम्बन्धित निकायलाई झक्झकाउनुपर्छ । खुन्ते सुर्खेती र बलबहादुर विकको मृत्यु केवल संख्यामा सीमित छैन, यो हाम्रो सामूहिक चेतनामाथिको आघात हो । अब गाउँपालिकाले तत्काल स्वतन्त्र छानबिन समिति गठन गरी दोषीको पहिचान गर्नुपर्छ । एनसेल र विद्युत् प्राधिकरणका जिम्मेवार पदाधिकारीहरूलाई कानुनी कठघरामा उभ्याएर कडा सजाय सुनिश्चित गर्नुपर्छ ।
– सन्तोष सिम्खडा, गोरखा, हाल: टोकियो, जापान
