संवेदनशील कानुन निर्माणमा खुला छलफल र बहस आवश्यक

जेष्ठ ४, २०८२

पाठक पत्र

Open discussion and debate is necessary in making sensitive laws

लामो प्रतीक्षापछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक सर्वसम्मत हुनु खुसीको कुरा हो । किनकि, यो विधेयक संघीय शासन कार्यान्वयनको एक प्रमुख अवयव हो ।

यद्यपि विधेयकका कतिपय प्रावधानले आमनागरिकको उत्साहमा पानी छर्किने संकेत देखिँदै छ । पारित विधेयकमा समावेश विषयवस्तु, कानुनी संरचना र व्यावहारिक प्रभावका बारेमा अझै पनि गहन विश्लेषण आवश्यक छ । किनभने यो विधेयक संघीयता कार्यान्वयनको मेरुदण्ड बन्ने कि एकात्मक शासन व्यवस्थाको पुनरावृत्ति मात्र हुने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ ।

छलफलमा कुलिङ पिरियड, अवकाश उमेर, ट्रेड युनियनको भूमिका, अतिरिक्त सचिवको व्यवस्था, आरक्षण नीति, सरुवा–बढुवासम्बन्धी व्यवस्थालगायतका बुँदा विवादित बनेका थिए । पारित विधेयकले त्यो विवाद र अस्पष्टतालाई प्रशासनिक संयोजनको दस्ताबेज बनाइदिएको छ । उदाहरणका लागि कुलिङ पिरियड दुई वर्ष राख्ने र अवकाश उमेर क्रमशः ५८ र ६० को बीचमा विभाजित गर्दै कार्यान्वयन गर्ने सहमति भएको छ । सतही रूपमा यसले समस्या समाधान गरेजस्तो देखिए पनि दीर्घकालीन मोडालिटीबिना यसको कार्यान्वयन अपूर्ण र थप जटिल हुने हो कि भन्ने आशंका उब्जिएको छ ।

त्यस्तै विधेयकमा पूर्वप्रशासकहरूले औंल्याएका जनताको पक्षमा पारदर्शिता, जवाफदेहिता र नागरिककेन्द्रित सेवा प्रवाह कसरी हुने भन्ने आधारभूत पक्ष समेटिएका छैनन् । निजामती सेवाको केन्द्रीय संरचना कायम राख्दै प्रदेश र स्थानीय तहको अधिकारलाई अस्पष्ट र द्विअर्थी बनाउनु भनेको संघीय शासनको आत्माविपरीत जानु हो ।

कान्तिपुरमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार समितिले अन्तिम घडीमा राजनीतिक सहमतिमा पारित गरेको भए पनि ‘थप बैठक बसेर अन्तिम रूप दिइने’ उल्लेख हुनु अझै पनि विधेयकको अन्तर्वस्तु पूर्ण र परिपक्व नहुने संकेत हो । त्यसै पनि उपसमितिद्वारा गोप्य बैठक राखेर गरिएको दफावार छलफलले पारदर्शिताप्रति प्रश्न उठाएकै छ । संसद्लाई नागरिक उत्तरदायित्वको मूलस्रोत मान्ने हो भने यस्ता संवेदनशील कानुन निर्माण प्रक्रियामा खुला छलफल र बहस आवश्यक हुन्छ ।
संघीयता केवल प्रदेशको नामकरण र सीमांकनमै सीमित हुने हो भने नागरिक सेवाको कुशलता, जवाफदेहिता र समावेशिताका मूल्य–मान्यता हराउने सम्भावना रहन्छ । यो वा त्यो बहानामा अझै पनि एकात्मक मानसिकतामै अल्झिने हो भने संविधानले परिकल्पना गरेको समावेशी, उत्तरदायी र जनमुखी शासन केवल कागजमै सीमित हुनेछ । खासमा विधेयकले संघीय शासन प्रणालीलाई संस्थागत गर्दै छ कि फेरि पनि ‘केन्द्र’ लाई नै सुदृढ गर्ने बहानाबाजी खोजिएको हो ? आमनागरिकका मनमा उठेको यो प्रश्नको चित्तबुझ्दो जवाफचाहिँ विधेयक ऐन बनेर कार्यान्वयनमा आएपछि नै भेटिएला कि !
–टेकेन्द्र अधिकारी, विराटनगर

पाठक

Link copied successfully