राजनीतिमा पार्टी एकता र फुटको कुरा नौलो होइन । नेपालको सन्दर्भमा झन् यो अति सामान्य भइसकेको छ । राजनीतिक दलको स्थापनाकालदेखि नै यस्तो जुट र फुटको क्रम चलिआएको इतिहास पाइन्छ ।
वि.सं.२०७४ को संघीय निर्वाचनअघि नेकपा एमाले र माओवादी केन्द्रका बीचमा निर्वाचनपछि पार्टी एकता गर्ने गरी चुनावी गठबन्धन भयो । चुनावपछि पार्टी एकतासमेत भयो । एकताका बेला ‘एक जेटका दुई पाइलट भयौं’ भन्ने केपी ओली र पुष्पकमल दाहालले उक्त जेटलाई धेरै समय उडाउन सकेनन् । अन्ततः तत्कालीन अवस्थामा जुटेका दुई दल मात्र फुटेनन्, उल्टै पुरानो एमालेसमेत एकैपटक फुटेर तीन दलको निर्माण हुन पुग्यो ।
एमाले र माओवादी पुरानै हैसियतमा पुगेपछि पुनः पटक–पटक वाम एकताको कुरा नउठेका पनि होइनन् । अझै पनि वाम गठबन्धनको कुरा उठी नै रहेको पनि छ । वाम गठबन्धनको कुरा एकातिर चलिरहेकै छ । अर्कातिर पछिल्लो समय एकअर्काका कट्टर आलोचक बन्न पुगेका एमाले र माओवादीका बीचमा पुनः एकताको कुरा उठाएर जनतालाई फेरि एकपटक अलमल्याउन खोजिएको छ । विशेषगरी सरकारबाट हटाइएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विभिन्न अभिव्यक्तिका कारण बेलाबेला चर्चामा आइ नै रहन्छन् । यसैक्रममा पार्टीले थालेको जागरण अभियानअन्तर्गत गत शुक्रबार उनले डडेलधुरा पुगेर एमालेसँगको एकताको कुरा पुनः उठाएका छन् । उनले आगामी २०८४ को निर्वाचनअगाडि एमालेसँगको एकता सम्भव नभएको बताएका हुन् ।
यदि कुनै पार्टीसँग एकता नै हुँदैन, सहकार्य नै हुँदैन भन्ने लाग्छ भने पटक–पटक तीनै दलसँगको एकता, सहकार्य र गठबन्धनको कुरा किन उठाइरहन्छन् नेताहरू ? एउटै कुरा पटक–पटक दोहोर्याइरहँदा कुनै दिन तिनै कुराले सार्थक रूप लिइ पो हाल्छ कि भन्ने लागेर नेताहरू यस्तो बोल्छन् कि भन्ने लाग्छ । बाहिर बाहिर आपसी रूपमा झगडा गरेजस्तो गर्ने र भित्रभित्र आपसी समझदारी कायम गर्न खोज्ने जस्तो गरेको देखिन्छ । होइन भने एकपटक प्रयोग गरे असफल सिद्ध भइसकेको विषयलाई किन पटक–पटक प्रयोगमा ल्याउन खोजिरहन्छन् नेताहरू ? के उनीहरूको उद्देश्य नै जनतालाई भुलाएर पंगु बनाउने मात्र हो त ?
- सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
