'यो नेपाली शिर उचाली...' हरफका रचनाकार माधव घिमिरे !

जेष्ठ २, २०८२

पाठक पत्र

Madhav Ghimire, the creator of the letter 'Yo Nepali Shir Uchali'!

नेपाली विषयको शिक्षक भए पनि गत वर्ष शैक्षिक सत्रको सुरुतिरै कक्षा १० को एउटा सेक्सनमा ‘सामाजिक अध्ययन’ का शिक्षक अनुपस्थित भएका कारण म पढाउन पुगेको थिएँ ।

पाठ्यपुस्तक हेर्ने क्रममा एकाइ एकको ‘हामी र हाम्रो समाज’ अन्तर्गत ‘हाम्रा राष्ट्रिय गौरव’ शीर्षकको पाठ ४ (पृष्ठ १६) पल्टाउन पुगेछु । त्यहाँ सुरुमै लेखिएको थियो:

‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ

जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ ।

राष्ट्रकवि माधव घिमिरेद्वारा रचित यो हरफले नेपाली गौरवमय वीरगाथालाई प्रतिविम्बित गरेको छ ।...’
गीतका रूपमा बज्ने यस पंक्तिका रचनाकार राष्ट्रकवि माधव घिमिरे नभएर प्रसिद्ध कवि भूपी शेरचन हुन् । प्रतीक र विम्बको प्रयोग गरी अति नै मार्मिक कविता रच्ने क्षमताका धनी शेरचनका कविता हाम्रा विद्यालयका सानो कक्षादेखि ठूलो कक्षासम्म राखिएका छन् । एआईको जमानामा अहिले विश्वका जुनसुकै कुराको पनि जानकारी पाउनु सामान्य भएको छ । कतिपय सिद्धान्त, दर्शन, मतमा विवाद पनि हुन्छ । वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन बाँकी कुरामा तर्क–वितर्क चल्न सक्छ । विश्वका कुनै अनौठा मुलुकको अनौठो जानकारी भएमा पहिलो पटक सुन्नेलाई विश्वास नलाग्न पनि सक्छ । तर सामान्य पाठकलाई पनि थाहा भएको, हाम्रै देशका अति लोकप्रिय कविको रचनाका विषयमा पाठ्यक्रम विकास केन्द्रका विज्ञहरूलाई कसरी थाहा भएनछ ! म त छक्क परेँ । तत्कालै पाठ्यक्रम विकास केन्द्रलाई मौखिक सुझाव दिन पनि मन लाग्यो । तर सोचेँ, ‘यो विषय देशभरिका सरकारी विद्यालयमा पढाइ हुन्छ । कैयौं विज्ञ गुरुहरू हुनुहुन्छ । उहाँहरूले सुझाव दिएपछि तुरुन्तै पाठ्यक्रम विकास केन्द्रले सञ्चारका विभिन्न माध्यमको प्रयोग गरी गल्ती सच्याइहाल्छ नि ! मलाई किन हतार !’ तर, प्रथम संस्करण २०८० मा देखिएको यो गल्ती पुनर्मुद्रण २०८१ मा यस पटक हेर्दा पनि यथावत् रहेछ । यो त अति नै भएन र ! आशा छ, यस सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रले अविलम्ब ध्यान पुर्‍याउनेछ ।

इन्द्रकुमार श्रेष्ठ, वागीश्वरी मावि च्याह्मासिंह, भक्तपुर

पाठक

Link copied successfully