प्रधानमन्त्रीज्यू ! हावादारी गफले देश चल्दैन

वैशाख ३१, २०८२

पाठक पत्र

Prime Minister! Gossip does not run a country

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्तीको अवसरमा लुम्बिनीबाट एउटा विवादास्पद टिप्पणी गरेका छन्, ‘भारत र पाकिस्तानबीचको युद्ध हामीले संयमित हुन आग्रह गरेपछि रोकिएको हो ।’

के नेपालको कार्यकारी प्रमुखले बोलेका हरेक शब्द सत्य, जिम्मेवार र प्रमाणमा आधारित हुनु पर्दैन ? नेपालको कूटनीतिक हैसियत, भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय सन्तुलनको गहिरो बुझाइबिना यस प्रकारको दाबी गर्नु केवल हास्यास्पद मात्रै होइन, नेपालको कूटनीतिक विश्वसनीयताविपरीतको कार्य पनि हो ।

देश आज राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार र कुशासनको दलदलमा फसेको छ । जनताले दैनिकी चलाउन संघर्ष गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सस्तो बजार र सुशासन पहिलो प्राथमिकता बनेको आजको सन्दर्भमा जनता प्रधानमन्त्रीले यथार्थ धरातलमा उभिएर बोलेको सुन्न चाहन्छन्, न कि जोक, टुक्का र गफमै रमाएको भाषण । ‘हामीले संयमित हुन आग्रह गरेपछि युद्ध रोकियो’ भन्नु सस्तो लोकप्रियता कमाउने बालसुलभ प्रयासभन्दा बढी केही होइन ।

जनता अब भाषणको मोहमा फस्ने अवस्थामा छैनन् । उनीहरू प्रश्न गर्छन्, आलोचना गर्छन्, तर्क गर्छन् र नतिजा माग्छन् । प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले बोलेका प्रत्येक शब्दले देशभित्र र बाहिर असर पार्छ । त्यसैले अब बोलीभन्दा पहिला सोच्नुपर्ने, तर्कको आँचमा कुरालाई परख्नुपर्ने र प्रमाणका आधारमा मात्रै दाबी गर्नुपर्ने समय आएको छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully