मिसाइल दागेर होइन, संयमता अपनाएर समाधान खोजौं

वैशाख २६, २०८२

पाठक पत्र

Let's find a solution not by firing missiles, but by adopting moderation

भारतले पाकिस्तानमाथि हालै सञ्चालन गरेको मिसाइल आक्रमणले फेरि एक पटक एसियाली उपमहाद्वीपमा बारुदको गन्ध फैलिएको छ । यो सैन्य कदमले न दुश्मनलाई कमजोर बनाउनेछ, न त सीमा सुरक्षित नै रहनेछ ।

बरु यसले लाखौँ नागरिकको मनमा भय, शंका र त्रासको आँधी ल्याउने निश्चित छ । भारतले यो कदमलाई कुनै विशिष्ट ‘सर्जिकल स्ट्राइक’ का रूपमा चित्रित गरे पनि वास्तविकतामा यो शक्ति प्रदर्शनभन्दा बढी राजनीतिक सन्देश हो । जसले विगतका हरेक युद्धमा जस्तो अहिले पनि जनतालाई गहिरो मर्ममा पुर्‍याउनेछ ।

युद्धका नाममा जुन जुन निर्णय लिइन्छ, त्यसको मूल्य चुकाउने भनेका सीमापारि उभिएका जवान, आकाश छोप्दै आएको मिसाइलको आवाजमा काँपिरहेका बालबालिका र शान्ति खोजिरहेका आम नागरिक नै हुन् । भारत र पाकिस्तानले इतिहासमा तीन ठूला युद्ध लडे, दर्जनौँ साना झडप भोगे, तर न कुनै स्थायी समाधान आयो, न त द्वन्द्व नै अन्त्य भयो । बरु, द्वन्द्व र शंकाको यो दुष्चक्रले दुई देशलाई मात्र हैन, सिंगो दक्षिण एसियालाई नै जोखिममा पार्दै लगेको छ ।

यस सन्दर्भमा सबैभन्दा चिन्ताजनक पक्ष भनेको मिडियाको भूमिका बनिरहेको छ । समाचारका शीर्षकहरू ‘भारतको प्रतिशोध’ र ‘पाकिस्तानको जवाफ’ जस्ता शब्दमा सीमित भइरहेका छन्, जहाँ शान्तिको संवाद, कूटनीतिक पहल र दीर्घकालीन समाधानको आवाज कतै हराएको छ । यस्तो अवस्थामा मिडियाले ‘सूचना’ होइन, ‘उत्तेजना’ बेचिरहेको दृश्य अत्यन्त दुर्भाग्यपूर्ण छ ।

नेपालले सदैव क्षेत्रीय शान्तिका पक्षमा आफ्नो आवाज उठाउँदै आएको छ । बुद्धजन्मभूमिको परिचयले हामीलाई बौद्धिक दायित्व पनि दिएको छ, जहाँ हामी तटस्थ भईकन पनि सत्यको पक्षमा उभिन सक्छौं । आजको समयमा हामी भारत र पाकिस्तानका नेतालाई आग्रह गर्छौं– अब युद्ध होइन, संवाद सुरु गर्नुहोस् । मिसाइल दाग्ने प्रतिस्पर्धा अन्त्य गर्नुहोस् र जनताका पक्षमा कूटनीतिक वार्तामा बस्नुहोस् । शक्ति देखाउनुभन्दा संयम देखाउनु आजको नेतृत्वको कर्तव्य हो ।

दक्षिण एसियामा पहिले नै गरिबी, बेरोजगारी, स्वास्थ्य संकटजस्ता समस्याले जनजीवन आक्रान्त छ । त्यसमाथि बारुदको खेलले यी समस्यालाई अझ भयावह बनाउनेछ । युद्धले कसैलाई जिताउँदैन, यसले केवल मानवता हराउँछ ।

हामी यो पनि बुझ्छौं कि युद्ध गर्ने निर्णय सधैं नेताले लिन्छन्, तर चिहानमा पुग्ने त सिपाही, गरिब किसानका छोराछोरी र झुपडीका सपना देख्ने हुन्छन् । त्यसैले हाम्रो आग्रह छ– शान्ति नै वीरता हो, संवाद नै समाधान हो । आउनुहोस्, युद्ध होइन, सहकार्य र शान्तिको यात्रा थालौं ।
सन्तोष सिम्खडा, टोकियो, जापान

भारत–पाकिस्तानबीच युद्ध हुनु र त्यो पनि आणविक शक्तिसम्पन्न देशबीच युद्ध हुनु कुनै पनि मानेमा उचित होइन । यो मूर्खतापूर्ण र खेदजनक कार्यको जति निन्दा गरे पनि कमै हुन्छ । शान्तिकामी विश्व जगत्ले युद्धको विरोधमा र शान्तिको पक्षमा कडा रूपमा बोल्न सक्नुपर्छ । किनकि आणविक हातहतियार र बम प्रयोग भएमा स्थिति कतिसम्म भयावह हुन्छ भन्ने कुरा हामीले हिरोसिमा र नागासाकीका घटनाबाट भोगिसकेका छौं । जहाँ अमेरिकाले प्रहार गरेको लिटिल ब्वाय र फ्याट म्यान नामक बमले लाखौं मानिसको मृत्यु भएको मात्र होइन, ५० औं वर्षसम्म पनि त्यहाँका जनता क्यान्सर, बाँझोपनजस्ता समस्याले पिरोलिएका थिए ।

भोकमरी र कुपोषणविरुद्ध लडिरहेको विश्वमा युद्धका लागि खर्बौं रकम खर्च हुनु किमार्थ उचित होइन । यो कुरा भारत र पाकिस्तान दुवैले समयमै बुझनु जरुरी छ ।

भारतले अहिले पाकिस्तान भएर बग्ने सिन्धु नदीको पानी रोकेको छ । यसबाट नेपाल, भूटानजस्ता देशले के सिक्ने ? किनकि, नेपाल र भूटानको पानी ठूलो मात्रामा निःशुल्क भारततर्फ जाने गरेको छ । कालीगण्डकी नदीको धार परिवर्तन गरेर नेपालको अन्य क्षेत्रमा सिँचाइ पुर्‍याउन खोज्दा भारतले आफ्नो देशमा आइरहेको पानी रोक्न खोजेको भनेर विरोध गर्‍यो । आफूले पाकिस्तानमा पानी रोक्दा सही अनि नेपालले रोकेर सिँचाइ गर्छु भन्दा गलत हुने भारतको यो कस्तो दोहोरो नीति हो ? यसको पनि समीक्षा गर्नु जरुरी छ ।
गोपाल देवकोटा, कामनपा–७, चाबहिल, काठमाडौं

पाठक

Link copied successfully