सुशासन आयोगको औचित्य के ?

वैशाख २१, २०८२

पाठक पत्र

What is the purpose of the Good Governance Commission?

बैशाख १०, २०८२ को कान्तिपुरमा प्रकाशित ‘सरकारमाथि सरकारकै अविश्वास, प्रधानमन्त्रीकै नेतृत्वमा सुशासन आयोग’ शिर्षकको समाचार पढ्दा उदेक लाग्यो ।

किनभने सरकारका दैनन्दिन कामकारबाही, भ्रष्टाचार र बेथिति नियन्त्रण गरी सुशासन कायम गर्न प्रधानमन्त्री मातहतका शक्तिशाली निकायहरूलाई क्रियाशील र जिम्मेवार बनाउनुपर्नेमा प्रधानमन्त्रीकै नेतृत्वमा अर्थ, गृह, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसहित १५ सदस्यीय सुशासन आयोगका नाममा नयाँ संयन्त्र गठन गरिएको छ । जबकि सुशासन भनेकै जनमुखी प्रशासन, जवाफदेहिता, पारदर्शिता, कानुनी शासन, भ्रष्टाचारमुक्त समाज, चुस्त प्रशासन, आर्थिक अनुशासन र असल शासन हुन् भन्ने तथ्यलाई बुझ पचाएर सरकारले जनतामाथि आर्थिक ऋण र मनोसामाजिक कष्ट दिने काम मात्र गर्दैछ ।

राजनीतिक वृत्त र नागरिक समाजले सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न उठाइरहेको आवाजलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले आफ्नै अध्यक्षतामा अनावश्यक र आर्थिक नोक्सानी हुने आयोग गठन गर्न सुहाउँछ ? अर्कोतिर सरकार गठन भएको १० महिना पुगिसक्दा पनि मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छैन भने यसपट्टि कसैले चासो पनि लिएका छैनन् । तर सरकारकै कर्मचारीले आर्थिक वर्ष भुक्तान भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ, एक दिन पनि ढिला भएमा सजायको भागीदार हुनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरू आमनागरिकप्रति जवाफदेही र पारदर्शी हुनुपर्ने महसुस गरी २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालादेखि सरकार गठन भएको १५ दिनभित्र प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण पेस गर्ने परम्परा ओली सरकारले तोडेको छ ।

भ्रष्टाचार र सुशासनसँग सम्बन्धित शक्तिशाली दर्जनौं संयन्त्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएका छन् । यिनै संयन्त्रले नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने होइन र ? यदि हो भने यिनै कामका लागि समानान्तर संयन्त्रका रूपमा आयोग गठन किन ? यसो गर्दा राज्य संयन्त्रमाथि आमनागरिकको अविश्वास बढ्दैन ? भ्रष्टाचारका ठूल्ठूला काण्डमा नेतृत्व तहकै संलग्नता रहेको शंकाप्रति अख्तियारमार्फत छानबिन गर्न सरकारको सहयोगको खाँचो भएका बेला अख्तियारसम्बन्धी विधेयकलाई अझ अधिकार सम्पन्न बनाएर अगाडि बढाउनुपर्ने दायित्व र कर्तव्य सरकार प्रमुखको होइन र ? सरकारको आलोचना गर्नेप्रति प्रतिशोध साध्ने, विद्यमान संयन्त्रलाई शक्तिशाली र चलायमान बनाउन नसक्ने तर अनावश्यक र समानान्तर आयोग, समिति वा कार्यदल आदि गठन गर्दैमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुन्छ र ? नतिजा राज्यको ढुकुटी रित्तिन्छ, आसेपासेले काम पाउँछन् तर अवस्था जहाँको त्यहीं ।

गंगाराज अर्याल, पाणिनि–८, पाली, अर्घाखाँची

पाठक पत्र

Link copied successfully