नदी–सभ्यताको गरिमामाथि प्रहार

वैशाख १८, २०८२

पाठक पत्र

The river is an attack on the dignity of civilization

जलस्रोतको धनी देश हाम्रा लागि नदीहरूको भूमिका सर्वोत्कृष्ट रहँदै आएको छ । प्रथमतः खानेपानी, विद्युत् उत्पादन, सिँचाइका निम्ति देशभर छरिएर रहेका नदीहरू उपयोग भइरहेका छन् ।

सोबाहेक वातावरणीय स्वच्छता कायम राख्नेदेखि र्‍याफ्टिङ, बोटिङ, स्विमिङ, बन्जीजम्प, ट्रेकिङ, साहसिक यात्राजस्ता गतिविधिसमेत प्रत्यक्ष, अप्रत्यक्ष रूपमा नदीनाला, तालतलैयासँग जोडिँदै आएका छन् । केही दशकयता भने नदी किनारलाई आधार मानेर राजमार्ग, पक्की सडक निर्माण भइरहेको यथार्थबाट पनि हामी अनभिज्ञ छैनौं । यावत् विषयलाई केन्द्रमा राखेर आरके अदीप्त गिरीद्वारा लिखित ‘संकटमा कालीगण्डकी सभ्यता’ शीर्षकको लेख नदीविशेषमा केन्द्रित भए पनि यसभित्र मुलुकभर मच्चिएको जल, भूमाफियाको नग्न तस्बिर प्रतिविम्बित भएको मान्न सकिन्छ ।

बहुआयामिक महत्त्व बोकेको कालीगण्डकीमा समग्र वातावरण प्रभाव मूल्यांकन नगरी सिंगो नदीको बहाव छेक्ने, थुन्ने, अन्दाधुन्ध तरिकाले ढुंगा, गिट्टी, बालुवाको दोहन गर्ने विषयले भने सबैलाई चिन्तित तुल्याएको छ । झूटो प्रतिवेदनलाई आत्मसात् गर्दै डाइभर्सन र जलाशय निर्माण गर्न खोज्दा निकट भविष्यमा जलसंकट, जैविक विविधताको ह्रास र भौगोलिक संरचनामा धक्का पुग्ने निश्चित छ । सरकारी निकायकै संलग्नतामा कालीगण्डकीमाथि महाविनाशकारी कदम चालिनु घोर निन्दनीय विषय हो । उता सुनकोशी, कैलालीको चुरे गाउँपालिका, तिनाउ नदीलगायत अनगिन्ती स्थानमा लामो समयदेखि भूमाफियाले कब्जा जमाएर अनुपम नदीहरूको अस्तित्व, गरिमा मेटाउन लाग्दासमेत शासकको कानमा बतास नलाग्नु मुलुकका निम्ति घातक विषय बनेको छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक

Link copied successfully