शिक्षक वर्गले गर्नुपर्ने संकल्प

वैशाख १८, २०८२

पाठक पत्र

Decision to be made by teachers

अब शिक्षक आन्दोलनको धूवाँ बिस्तारै मत्थर हुने संघारमा छ । शिक्षकहरू फेरि आफ्ना पवित्र कक्षामा फर्किने तयारीमा छन् । तर फर्किंदा केवल शारीरिक रूपमा होइन, आत्मा र सोचमा पनि नयाँ संकल्पका साथ फर्किनु आवश्यक छ ।

अहिलेको संकटकालीन घडीमा शिक्षकहरूले केही ऐतिहासिक निर्णय लिनैपर्छ जसले नेपालको शिक्षालाई साँच्चै स्वतन्त्र, स्वच्छ र भविष्य निर्माणतर्फ डोहोर्‍याउनेछ ।

पहिलो कदम, राजनीतिक दासत्वको प्रमाणपत्र बागमतीमा बगाउनुपर्छ । विगतमा अनेक राजनीतिक दलहरूले शिक्षकलाई कार्यकर्ता बनाउने प्रमाणपत्र थमाएका थिए । अब ती प्रमाणपत्रलाई सामूहिक रूपमा नदीमा बगाउने समय आएको छ । शिक्षक भनेको कुनै दलविशेषको होइन, राष्ट्रको हो । अब शिक्षालाई कुनै झन्डा, कुनै नेताको स्वार्थले होइन, केवल ज्ञान र चेतनाले निर्देशित गर्नुपर्छ ।

दोस्रो, विद्यालयलाई राजनीतिमुक्त बनाउने अठोट लिनुपर्छ । विद्यालय कुनै राजनीतिक गुटबन्दी गर्ने थलो होइन । विद्यालय विचारको मन्दिर हो, जहाँ स्वतन्त्र चेतना र सच्चा ज्ञान फस्टाउँछ । अब कुनै नेताको तस्बिर होइन, ज्ञान र संस्कारका प्रतिमान विद्यालयमा स्थापित गरिनुपर्छ । गुरुहरूले शिक्षाको धर्म निभाउँदै राजनीतिबाट टाढा रहनु नै नेपालको भविष्यप्रति सच्चा योगदान हुनेछ ।

तेस्रो, आफ्नै विद्यालयमा आफ्ना सन्तान भर्ना गर्ने संकल्प गरौं । यदि शिक्षक आफैंले आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा राखेनन् भने शिक्षाको गुणस्तरमा कसरी विश्वास जाग्ने ? आत्मविश्वास र प्रतिबद्धताले मात्रै शिक्षाको सुधार सम्भव छ । आफूले पढाउने विद्यालयमा नै आफ्ना सन्तान भर्ना गर्नु नै शिक्षामा इमानदारीको पहिलो प्रमाण हो ।

अन्त्यमा, राष्ट्रप्रेमी, नैतिकवान र विद्रोही विद्यार्थी उत्पादन गर्नेतर्फ लक्षित हुनुपर्छ । पढाइ केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन । विद्यार्थीहरू अन्यायविरुद्ध उभिन सक्ने, स्वाभिमानी र राष्ट्रलाई प्रेम गर्ने नागरिक बन्नुपर्छ । शिक्षकले आफ्ना आँसु, चोट र संघर्षबाट सिकेका शिक्षालाई भावी पुस्तामा रोप्नुपर्छ ताकि भोलिको नेपालमा कुनै शिक्षकले फेरि आफ्नो अधिकारका लागि सडकमा उत्रन नपरोस् ।

आजको घडीमा शिक्षकले जुन निर्णय लिन्छन्, त्यो केवल व्यक्तिगत होइन, राष्ट्रियस्तरको भविष्य निर्माणसँग जोडिएको छ । अब राजनीति होइन, शिक्षालाई समर्पित बन्ने बेला आएको छ । बागमतीमा पुराना जन्जिरहरू बगाएर विद्यालयमा आशाको नयाँ बीज छरौं । भविष्यका राष्ट्र निर्माता तयार पारौं, जसले शिक्षालाई स्वतन्त्रताको शिखरमा पुर्‍याउने छन् ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully