बलियो भनिएको वर्तमान गठबन्धन सरकार यसअघिका सबै सरकारभन्दा कमजोर साबित भएको छ । इतिहासमा बिरलै संसद्का पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँछन्, यो सरकार त्यसरी नै बनेको हो ।
तर बलियो भनिएको सरकारप्रति न त गठबन्धनको मुख्य दल कांग्रेसलाई विश्वास छ, न त सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंलाई नै सरकार लामो समय टिक्ने विश्वास छ । सरकार गठनकर्ता कांग्रेस र एमालेलाई नै आफैंले बनाएको सरकारप्रति विश्वास नभएकै कारण कांग्रेसका मन्त्रीहरू र एमालेका नेताहरू दिनहुँजस्तो सत्ता जोगाउन विभिन्न झूट तथ्यहरू प्रस्तुत गरिरहेका हुन्छन् । त्यस्तै, कांग्रेसका जिम्मेवार नेताहरू दिनहुँ सरकारप्रति जनविश्वास गुम्दै गएकाले सत्ता समीकरण धेरै दिन नटिक्ने खालका अभिव्यक्ति दिँदै आइरहेका छन् ।
यसअघिको एमाले–माओवादी र कांग्रेस–माओवादी मिलेर बनेको गठबन्धन सरकारलाई ‘३२ सिटको सरकारको आयु धेरै छैन’ भनेर तत्कालीन प्रतिपक्षी दलका नेताहरू भनिरहेका हुन्थे । तर यो सरकारप्रति सरकारमै सहभागी दलका नेताहरूलाई समेत विश्वास छैन । यस्तो हुनुमा केपी ओलीको प्रवृत्ति हो । प्रधानमन्त्री बन्ने प्रतीक्षा गरिरहेका गठबन्धनको मुख्य दल कांग्रेसका सभापति शेरबहादुर देउवाबाट वर्तमान सरकारप्रति पूर्ण समर्थन र विश्वास छ भन्ने बेलाबेला अभिव्यक्ति आउँछ । त्यस्तै, सरकारले चालेका गलत कदमप्रति खबरदारी गर्ने बलियो प्रतिपक्षी छैन । यी दुवै कारणले आज बलियो भनिएको सरकार दिन प्रतिदिन कमजोर बन्दै गएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई बर्खास्त गर्नु, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई कामै गर्न नदिएर राजीनामा गर्न बाध्य पारिनु, शिक्षक, चिकित्सकका मागप्रति सरकार अनुदार हुनु जस्ता कार्यले सरकारले आफूले राम्रो काम नगरेको भन्ने उसैलाई महसुस भएकै छ । त्यसैले त केपी ओली आफैं पनि यो सरकारको आयुका बारेमा अनभिज्ञता प्रकट गर्दै आइरहेका छन् । सत्ता निर्माण गर्न र ढाल्नका लागि प्रचण्ड नामै काफी छ । प्रचण्डले सत्ताको आयुका बारेमा कुरा गर्दा मात्रै पनि सत्तामा बस्नेहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्ने नै गर्छ । पछिल्लो समय प्रचण्डले दिनहुँ जस्तो सरकार ढल्ने खालका अभिव्यक्ति दिन थाल्नु र गठबन्धनको मुख्य दल नेपाली कांग्रेसका जिम्मेवार नेताहरूले नै आफूहरूको सरकारप्रतिको विश्वास गुम्दै गएको भन्ने खालका अभिव्यक्तिले अहिले सरकार आफैंदेखि आफैंसँग डराइरहेको छ । यो फगत केपी ओलीको प्रवृत्तिले भएको हो । यदि ओलीको हैकमवादी शैलीमा परिवर्तन आएन भने साँच्चै नै यो सरकार धेरै दिन टिक्दैन भन्ने नै देखिन्छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
