अन्य पेसाकर्मी/कर्मचारीका माग, छिट्टै र सजिलै पूरा हुने । तर यसअघि नै तीन जना प्रधानमन्त्रीका पालामा तीन–तीन पटक सहमति भएका माग पूरा गराउन झन्डै एक महिना काठमाडौंकेन्द्रित आन्दोलन गर्दा पनि शिक्षकका मागचाहिँ पूरा गर्न गाह्रो हुने ।
शिक्षक आन्दोलनकै कारण राष्ट्रिय परीक्षा बोर्डले तोकेको कक्षा १२ को परीक्षाको मिति नै सर्यो । शिक्षामन्त्री नै फेरिए । पछिल्लो पटक सर्वोच्च अदालतले समेत शिक्षकका पक्षमा फैसला गरेपछि मात्रै सरकार बल्ल थप दबाबमा परेको देखियो ।
शिक्षकप्रति सरकारको यस प्रकारको हेपाहा प्रवृत्ति किन भयो ? अन्य पेसाकर्मी/कर्मचारी राजनीतिक क्रियाकलापबाट टाढा रहँदा रहेछन् तर शिक्षकलाई जहाँ पनि राजनीतिक दलले आफ्नो कार्यकर्ताका रूपमा प्रयोग गर्दा रहेछन् । शिक्षक पनि कार्यकर्ता बन्न तयार । शिक्षकका पन्ध्रवटा संगठन भएबाट यही कुराको पुष्टि हुन्छ । विभिन्न राजनीतिक दलका भ्रातृ संगठनका रूपमा रहेका फरक फरक समूहका शिक्षकले फरक फरक पार्टीको समर्थक भएर ‘पार्टी’ कै निर्देशन मान्न थाल्ने हो भने शिक्षकको आवाज कसले सुन्छ ? शिक्षकको समस्या कसले बुझ्छ ? शिक्षक कसरी सम्मानित हुन्छन् ? उनीहरूको आवाज कसरी शक्तिशाली हुन्छ ? त्यसमाथि हाल कुनै खास पार्टीको वर्चस्व रहेको स्थानीय तह शक्तिशाली भएको अवस्था छ । तीमध्ये कतिपय स्थानीय सरकार शिक्षकलाई समान व्यवहार होइन, आस्थाका आधारमा कुनै न कुनै तनाव दिन रुचाउँछन् ।
नागरिकले पाउने मताधिकार छँदै छ । यसबाहेक शिक्षकले कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिनुपर्ने होइन । लिएमा उनीहरू सो दलका कार्यकर्ताका रूपमा उपयोग भई सस्तिन पुग्छन् । शिक्षक स्वयंले आफ्नो महत्त्व बुझी आफूले पालना गर्नुपर्ने आचारसंहिता र कर्तव्यप्रति जिम्मेवार भइदिए पुगिहाल्यो नि । कतिपयको तर्क छ— ‘शिक्षक आन्दोलनले बालबालिकाको पढ्न पाउने अधिकार हनन भयो ।’ यो सही हो । तर आन्दोलनको प्रकृति नै यस्तै हुन्छ । यो आन्दोलन शिक्षकको मात्रै हकहितका लागि नभएर समग्र शैक्षिक क्षेत्रकै सुधारका लागि हो । केही पाउन केही गुमाउनै पर्छ । जारी आन्दोलनले यत्तिका समय पार गर्दैगर्दा ढिलोचाँडो विद्यालय शिक्षा ऐन आउने नै छ । ऐनमा पनि थप केही न केही व्यवस्था होला । जे भए पनि अबका दिनमा शिक्षकले कुनै पनि पार्टीको सदस्य लिने र खुला समर्थक देखिने हुनु हुँदैन । सबै शिक्षकको एउटै मात्र ‘शिक्षक युनियन’ बन्नुपर्छ । यसो भएमा मात्र गुरुको शक्ति, इज्जत र गुरुत्व रहन्छ ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
