कागजी घोडाबाट विकास असम्भव

वैशाख १२, २०८२

पाठक पत्र

Impossible to evolve from a paper horse

नेपालको दिगो बिकासलाई मूर्तरूप दिने हिसाबले सन् २०१८ मा सरकारले निर्धारण गरेको लक्ष्य देश र जनता उत्थानको निम्ति सही नै मान्नुपर्छ ।

अर्थ वाणिज्य पृष्ठमा प्रकाशित ‘बर्सेनि सवा ३० खर्ब लगानी गरे मात्र दिगो विकास लक्ष्य पूरा हुने’ खवरले भने ठूलो लगानी भित्र्याउन नसक्ने हाम्रो शीर्ष नेतृत्व एवं सत्ताधारीलाई भने झस्काएको हुनुपर्छ । दिगो विकासअन्तर्गत गरिबी उन्मूलन, भोकमरीको अन्त्य, स्वस्थ जीवनको सुनिश्चितता, गुणस्तरीय शिक्षा, लैंगिक समानता, शुद्ध खानेपानी तथा सरसफाइलाई अग्रपंक्तिको लक्ष्य मानिएको छ । त्यस्तै ऊर्जामा सर्वसाधारणको पहुँच, समावेशी, दिगो र फराकिलो आर्थिक वृद्धि, बलियो पूर्वाधार, दिगो औद्योगिकीकरणजस्ता लक्ष्यलाई पनि सर्वाङ्गीण विकासका निम्ति अनुचित मान्न सकिँदैन । अन्य लक्षहरूमा असमानताको अन्त्य, समावेशी, सुरक्षित र दिगो मानव बस्ती, दिगो उपभोग र उत्पादन, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, सामुद्रिक स्रोतसाधनको संरक्षण, दिगो पर्यावरणीय प्रणाली र दिगो विकास कार्यान्वयनमा साझेदारी कार्यक्रम पर्दछन् ।
राष्ट्रिय योजना आयोगले उपरोक्त दिगो विकास लक्ष्य सार्वजनिक गरेको र लक्ष्य कार्यान्वयन गर्न २०२४–३० अवधिमा २ सय ११ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ, जवकि अहिलेको हाम्रो वार्षिक बजेट १८ खर्ब हाराहारी मात्र छ । यसरी अनगिन्ती लक्ष्य प्राप्त गर्न अहिलेको अवस्थामा ३५ प्रतिशत थप रकम आवश्यक देखिन्छ । दुःखका साथ भन्नुपर्छ अहिलेसम्म हाम्रा अधिकांश विकास कार्यक्रम बालुवामा पानी खन्याएझैं भएका छन् । जस्तोसुकै मिठासले भरिएका शब्द राखेर कार्यक्रम वनाए पनि गरिबी ‘दिन दुई गुना रात चार गुना’ बढेको यथार्थ कसैबाट लुकेको छैन ।
पञ्चायती शासनकालको विकासको मूल फुटाऊँ, नेपाललाई एसियाली मापदण्डमा पुर्‍याऊँ भन्ने नारा होस् या राजनीतिक परिवर्तनपछिको गरिबसँग विश्वेश्वर या समृद्ध नेपाल सुखी नेपाली भन्ने उद्घोष नै किन नहोस्, कसैबाट विकासको जग बस्न सकेको छैन । भ्रमण दशकको विषय अलपत्र परेको छ भने सत्ताधारीमाझ रेमिट्यान्स र अनुदानबाट दिगो विकास हासिल गर्ने भूत सवार भएको छ । युवा पलायनको अन्त्य, मौलिकता जोगाउने गरी नेपाली शैलीका सरकारी भवन, न्यून भौतिक निर्माण, प्रकृति संरक्षण, कृषि र पर्यटनका बृहत्तर कार्यक्रम, आयात प्रतिस्थापनलगायत विषयमा अर्जुनदृष्टि नराखेसम्म दिगो विकास दिवा स्वप्न मात्र हुनेछ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक

Link copied successfully