ओली सरकारको १० महिनाको खराब कामले जनतामा यति धेरै आक्रोश फैलिएको छ कि त्यसको अनुमान गर्न पनि कठिन छ । कहिले शिक्षामन्त्रीलाई असहयोग गर्ने त कहिले उपकुलपतिलाई नीति र योजना पेसै गर्न नदिएर राजीनामा गर्न बाध्य गर्ने, अनि कहिले जनताले मन पराएको कुलमान घिसिङजस्ता राम्रा कर्मचारीलाई हटाउने ।
यो आक्रोशको समाधान गर्ने उपाय भनेको केवल दुई वटा छन् । एउटा हो सरकार सञ्चालनबाट कांग्रेसले काँध फेर्ने र अर्को हो मध्यावधि चुनावको घोषणा गर्ने ।
यस्तै तालमा देश चलाउने हो भने देशमा कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ । सत्ता ‘कु’ हुन सक्छ र आक्रोशित जनताले त्यसलाई साथ दिन पनि सक्छन् । बंगलादेश, श्रीलंका, पाकिस्तानबाट हामीले धेरै कुरा सिक्नुपर्छ । त्यो भयावह स्थितिको आकलन गरेर त्यसै अनुसार पाइला चाल्न सके मात्र नेताहरू राजनेता कहलाउँछन् ।
बदनाम र असफल भएका शीर्ष नेताले अब राजनीतिबाट विश्राम लिन्छौं भनेर घोषणा गर्नासाथ पनि सडक धेरै शान्त हुन सक्छ । लोकतन्त्रका नाममा नेतातन्त्र चलेकाले देशको यो दुर्गति भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले १० महिनामा एकपछि अर्को अनगिन्ती नराम्रो काम गरेकाले नै जनता आन्दोलित भएका हुन् । त्यो कार्यबाट न केवल एमालेमात्र बदनाम भएको छ, साथसाथै कांग्रेस पनि बदनाम भइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवामा रहेको पदलोलुपता र फेरि छैटौं पटक प्रधानमन्त्री बन्ने अतृप्त चाहनाले गर्दा ओलीको हरेक खराब कामले उन्मुक्ति पाइरहेको छ । यदि मुलुकप्रति देउवाको अलिकति पनि माया हुन्थ्यो भने ओलीको हरेक काममा आँखा चिम्लेर सहयोग गर्दैनथिए होला । उनको सत्ता स्वार्थका कारण नै ओली मत्त हात्ती झैं भएका हुन् ।
अब कांग्रेसले तत्काल काँध फेर्नुपर्छ र इमानदार र सक्षम युवा नेता राखेर कांग्रेस–माओवादीसहितको संयुक्त सरकार बनाउनुपर्छ । होइन भने ‘भष्मासुर ओली’ले आफूसँगै देश नै भष्म बनाउनेछन् । ओली र देउवाकै कारण सडक अशान्त बनेको छ तर कांग्रेस पार्टीभित्र त्यसको निदान नखोजिनु आफैंमा आश्चर्यको विषय हो । जनताप्रति उत्तरदायी नबनेको नमुना हो ।
यस्तो तालले देश चल्दैन । कि काँध फेरेर सरकार चलाऊ, नभए मध्यावधि चुनावको घोषणा गर ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं
