निर्दोषलाई अझै कतिन्जेल दुःखकष्ट !

वैशाख ५, २०८२

पाठक पत्र

How long will the innocent suffer!

चरणबद्ध रूपमा गत माघ २० बाटै सुरु भएको भए पनि चैत २० बाट शैक्षिक हडतालका साथ काठमाडौंकेन्द्रित भएपछि मात्र सरकारले शिक्षक आन्दोलन थाहा पायो ।

थाइल्यान्डबाट फर्केपछि प्रधानमन्त्रीले थाहा नपाएजस्तो हलुका प्रतिक्रिया दिए । पछिल्ल्लो समयमा शिक्षामन्त्रीको आश्वासन, सञ्चारमन्त्रीको टिप्पणी र सभामुखको बेवास्तापूर्ण घोषणापछि शिक्षक थप निराश र असन्तुष्ट बनेका छन् ।

अहिले देशमा एमाले नेतृत्वको सरकार छ । शिक्षा, सञ्चार, अर्थ मन्त्रालय यही पार्टीको भागमा परेको छ । आफूलाई देखाउन मन लागेका बेलामा ‘मेची महाकाली अभियान’ देखि ‘शक्ति प्रदर्शन’ का देखावटी काम हुने ! मन लागेन भने वर्षौंदेखि अल्झेर रहेको शिक्षा ऐन जारी गराउन देशैभरिका शिक्षकको माग हुँदा पनि वास्ता नहुने ! यस्तो भएपछि शिक्षकले कति समय ज्ञानी भएर बस्ने त ?
सरकार एउटा पद्धतिमा चल्न सकेको भए यस्ता समस्या आउँदै आउँदैनथे ।

आन्दोलन दुःखदायी नै हुन्छ भन्ने कुरा विगतमा भएका अनेक डरलाग्दा आन्दोलनबाट बुझेकै छौं । अहिलेका लागि शिक्षक आन्दोलनलाई पनि त्यसैको एउटा सानो तर महत्त्वपूर्ण रूप ठानौँ । विगतका सहमतिले पुगेन । शिक्षा ऐनमा दफावार छलफल गर्न भ्याइएन । ध्यानाकर्षण पत्र बुझाउँदा पनि भएन । आजभोलि नै बोलाउन मिल्ने दुवै सदनको अधिवेशन बल्लतल्ल वैशाख १२ गतेको साइत जुराएर बोलाइएको छ ।

सहमति गर्ने, भाका राख्ने, प्रतिबद्धता जनाउने तर कामचाहिँ नगर्ने पुरानो सरकारी बानीका कारण यस पटक शिक्षक ‘विद्यालय शिक्षा ऐन नलिई नजाने’ अडानमा छन् । टाढाटाढाबाट आएका शिक्षक, अझ कतिपय त साना बाबुनानी बोकेर पनि आन्दोलनमा सरिक भएका छन् ।

आमहडतालमा उत्रिएको १६ दिन बितिसक्दा पनि सरकार समस्या समाधानतर्फ लागेको देखिएको छैन । निर्दोष शिक्षकलाई अझै कतिन्जेल दुःखकष्ट दिइरहने सरकार ?

इन्द्रकुमार श्रेष्ठ, वागीश्वरी मावि
च्याह्मासिंह, भक्तपुर

पाठक पत्र

Link copied successfully