प्रधानमन्त्री नै पार्टीभित्रको शक्ति–संघर्षमा रुमल्लिएपछि...

वैशाख ४, २०८२

पाठक पत्र

After the Prime Minister himself got involved in the power-struggle within the party...

प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको आवश्यकता र समस्यालाई सम्बोधन गर्नुभन्दा आफ्नै पार्टीभित्रको शक्ति–सङ्गर्षमा रुमल्लिएजस्तो देखिएका छन् ।

सरकारको ध्यान शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार निर्माण र आर्थिक सुधारजस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित गर्नुको सट्टा प्रधानमन्त्री ओली अहिले आफ्ना आलोचकलाई पार्टीबाट हटाउने र आफ्नो शक्ति जोगाउने प्रयासमा केन्द्रित देखिन्छन् ।

प्रधानमन्त्रीको यस्तो व्यवहारले देशलाई ठूलो क्षति पुर्‍याइरहेको छ । विकासका कामहरू थाती रहेका छन्, जनताका समस्यालाई प्राथमिकता दिइएको छैन र सरकारप्रतिको जनताको भरोसा पनि टुट्दै गएको छ । अझ दुःखद कुरा त के भने ओलीको यो प्रवृत्ति अब अन्य नेताले पनि पछ्याउने सम्भावना प्रबल छ । उनीहरूको ध्यान राष्ट्र निर्माण र जनताका समस्या समाधान गर्नुभन्दा सत्ताको राजनीति र आन्तरिक विवादमा सीमित हुने जोखिम बढेको छ ।

मुलुकमा अहिले जिम्मेवार र दूरदर्शी नेताको आवश्यकता छ, जसले आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको दीर्घकालीन हितलाई प्राथमिकता दिन सकोस् । देशको नेतृत्वले आफैंलाई सत्तामा जोगाइराख्नेतर्फ होइन, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक विकासजस्ता क्षेत्रमा ठोस उपलब्धि दिनेतर्फ केन्द्रित गराउनुपर्‍यो । अब समय आएको छ– जनताले नै सरकार र नेताहरूलाई जिम्मेवार बनाउने । देशको भविष्य सुरक्षित राख्न, हामीले परिवर्तनको माग गर्नुपर्छ र नेतृत्वलाई सही दिशामा लाग्न बाध्य पार्नुपर्छ ।

मुलुकलाई यस्ता नेता चाहियो, जो पार्टीको स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई पहिलो स्थानमा राखून् र दिगो विकास र एकताको दिशामा काम गरून् ।

जयराम चापागाईं, नागार्जुन–५, सीतापाइला, काठमाडौं

पाठक

Link copied successfully