परिवर्तनको पर्खाइमा बितेको वर्ष

वैशाख २, २०८२

पाठक पत्र

A year spent waiting for change

नेपाली समाजका लागि २०८१ साल अनेक रंग, स्वाद र सन्देश लिएर आयो । कुनै घटना आशा र प्रेरणाले भरिएका थिए त कुनैले गहिरो पीडा र आक्रोश पनि छाडेर गए ।

देशको नेतृत्व अझै पनि राजनीतिक कुर्सीको वरिपरि घुमिरहेको छ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री बने पनि देशले स्थायित्वभन्दा नाटकीयता धेरै भोग्नुपर्‍यो । राजावाद र गणतन्त्रबीचको बहस फेरि तातियो, तर जनताको प्राथमिकतामा भने रोजगारी, शिक्षा र न्याय नै उभिइरह्यो ।

कुलमान घिसिङको बर्खास्तीले जनविश्वासमाथि गम्भीर चोट पुर्‍यायो । भुटानी शरणार्थी घोटालाको अनुसन्धानमै खटिएका इमानदार प्रहरी अधिकारीको सरुवा, दुर्गा प्रसाईंको शक्ति प्रदर्शन र रवि लामिछानेमाथि उठेका कानुनी प्रश्नले सत्ता र न्यायबीचको दूरी झनै स्पष्ट बनायो । त्रिशूलीमा हराएका निर्दोष यात्रुहरू, सौर्य विमान दुर्घटना, भारतमा नेपाली छात्राको होस्टलमै मृत्यु यी सबैले हाम्रो प्रणालीप्रति गहिरो प्रश्न उठाए । तीनकुनेमा झडप भयो, शिक्षकहरूको आन्दोलन त अब स्थायी सन्देशजस्तै भएको छ ।

तर आशाका किरणहरू पनि थिए । नेपालले पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको ऐतिहासिक गर्वसँगै, एनपीएलजस्ता क्रिकेट प्रतियोगिताले भित्रिएका नयाँ उत्साहहरू उल्लेखनीय रहे । सन्दीप लामिछानेमाथि चलेका बहसले हाम्रो समाजको विभाजित मानसिकता झल्कायो भने दुर्गेश थापाका गीत, चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ र एलिना चौहानको विवाह–डिभोर्सजस्ता विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुले । बालेन शाहका क्रियाकलापले पनि कहिले समर्थन त कहिले विवाद पैदा गरिरहे ।

वातावरणीय चुनौती पनि कम थिएन । असार, साउन र असोजको बाढी, डढेलो, वायु प्रदूषण यी सबैले हाम्रो पूर्वाधार र चेतनाको कमी औंल्याए । कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरेर अद्वितीय कीर्तिमान राखे भने नागढुंगा र सिद्धबाबा सुरुङमार्गजस्ता पूर्वाधारले अलिअलि भए पनि आशा बोके ।

यी सबै घटनाहरूको सन्दर्भमा अब २०८२ लाई केवल नयाँ पात्रो होइन, नयाँ चेतनाको सुरुवात बनाउनुपर्दछ । अब पुराना अनुहार र प्रवृत्तिको मोह त्यागेर विवेकको बाटो समात्ने बेला आएको छ । देशको प्रत्येक कुनाकुनामा नैतिक शिक्षाको भर्खरै उम्रिँदो बिउले पानी मागिरहेको छ । यो वर्ष त्यो प्यास मेटाउने वर्ष बनोस् । युवाहरूको देश फिर्तीको वातावरण सिर्जना होस्, युवाहरूको सीप देशमै उपयोग होस्, शिक्षाले मानवता सिकोस् । हामी केवल आलोचना होइन, समाधानका सहयात्री बनौं । २०८२ साल हामी सबैका लागि विवेक, साहस र समर्पणको वर्ष बनोस् ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully