मुआब्जामा अल्झिएको रेल सपना

चैत्र ३१, २०८१

पाठक पत्र

Train dream entangled in compensation

पूर्व–पश्चिम रेलमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीको सपनामा मात्र सीमित हुने भयो । महोत्तरीको बर्दिवासबाट पूर्व–पश्चिम राजमार्गको समानान्तर रेलमार्ग स्थापनाका लागि ड्याम बनाउने काम भइरहेको छ ।

भौतिक पूर्वाधार मन्त्रालय र रेल विभागले यो सपना साकार बनाउन ठूलो योजना र हिम्मत देखाउनुपर्ने हो । तर, देखिने गरी काम अगाडि नबढ्दा यस क्षेत्रका जनता निराश छन् । नेपालमा रेलका लागि करिब ३२ अर्ब लगानी भइसकेको छ । करिब १० अर्ब तिरेर रेलमार्गका लागि ६ सय बिघा जग्गा अधिग्रहण गरिएको छ । यति ठूलो लगानी भइसक्दा पनि भौतिक पूर्वाधार मन्त्रालय र रेल विभागको सोच दीर्घकालीन देखिँदैन ।

जग्गा अधिग्रहण गरेको १० वर्ष बित्दा पनि मुआब्जा वितरण गर्न सकिएको छैन । जग्गा रोक्काले जनताको बिजोग भएको सरकारले देखेकै छैन । विगत ८–१० वर्षदेखि रेलवे विभागमा १–२ जनाबाहेक आएका सबै महानिर्देशक अवकाशको समय कटाउन मात्रै आएजस्तो देखिएको छ ।

मुआब्जा दररेट प्रकाशित भएको महोत्तरी–बर्दिवास खण्डका किसानहरू मुआब्जा प्राप्तिका लागि कहिले मन्त्रालय, कहिले विभाग त कहिले जनकपुरस्थित कार्यालय धाएको धायै छौं । जग्गाधनीले १० वर्षदेखि मुआब्जा नपाउने, रेलका अधिकारीहरूले सरकारको योजना कार्यान्वयन नगर्ने र बर्दिवासदेखि सिमरा खण्डसम्म बनेको ड्याम पनि जीर्ण बन्दा नेपालमा रेल, सपना मात्रै हुने हो कि भन्ने डर छ ।

निरज अधिकारी, संयोजक, रेलवे संघर्ष समिति, बर्दिवास

पाठक पत्र

Link copied successfully