त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले हालै मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनुको मुख्य कारणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गरेको,
त्रिविको नीति तथा कार्यक्रम सिनेटमा पेस गर्न नदिएको, डिन नियुक्तिमा हस्तक्षेप गरेको, पठनपाठन हुने स्थलमा जबरजस्ती क्रिकेट रंगशाला बनाउन लगाएको जस्ता आरोप लगाएका छन् । जुन तथ्यपरक नै लाग्छन्, निराधार छैनन् ।
यसअघि ओली प्रधानमन्त्री भएकै बेलामा संस्कृत विश्वविद्यालयका तत्कालीन उपकुलपतिलाई विदेशमा आयोजित कार्यक्रममा जानबाट रोकेका मात्र होइनन् कि विमानस्थल पुगिसकेपछि प्रहरी लगाएर अपमान नै गरी फिर्ता बोलाएका थिए । त्यो काम उनले उनी विदेशबाट फर्केर आएपछि पनि गर्न सक्थे । तर ओलीले न्यूनतम सहानुभूति पनि देखाएनन् ।
यसैगरी ओलीले उज्यालोका अभियन्ता मानिएका र राम्रो काम र परिणाम देखाएका कुलमान घिसिङलाई पनि कहिल्यै राम्रो नजरले हेरेनन् । उनी महसुल नतिर्ने उद्यमीहरूको महसुल कुलमानले नउठाउन् भन्ने चाहन्थे । तर कुलमानले नमानेपछि ऊर्जामन्त्री दीपक खड्काको काँधमा बन्दुक राखे फायर खोले । यी केही दृष्टान्त मात्र हुन् । ओलीले यस्ता सयौं काम गरेका छन्, जसले नेपालको बौद्धिक जगत् पलपलमा प्रताडित भएको छ । तथापि बौद्धिक व्यक्तिहरूको पक्षमा बोलिदिने कुनै संगठित समूह नहुँदा ओलीले सबैलाई यसैगरी पेल्ने, हेप्ने, मानमर्दन गर्ने गर्दै आएका छन् । यो सिलसिला रोकिएको छैन ।
आफूलाई मन पर्ने ५२ जनालाई गैरकानुनी रूपमा संवैधानिक नियुक्ति दिने र तिनीहरूको संसदीय सुनुवाइ सुरु हुने बेलामा संसद् नै विघटन गर्ने काम पनि ओलीले गरे । ओलीलाई प्रशंसामा ताली पड्काउनेबाहेक अन्य राम्रा स्वाभिमानी बौद्धिक व्यक्तिहरू किन मन पर्दैन हँ !
त्रिवि कीर्तिपुर परिसर बाहिर कुनै नयाँ ठाउँ खोजेर रंगशालाको निर्माण गरौं । शिक्षा आर्जन गर्ने ठाउँमा रंगशाला निर्माण गरेर दुनियाँ हँसाउने काम नगरौं ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं
