नियुक्तिमा भागबन्डा होइन, कानुनी र संस्थागत विधि अपनाऔं

चैत्र २७, २०८१

पाठक पत्र

Let us adopt the legal and institutional method in the appointment, not the quota

नेपालमा उच्च तहका पदाधिकारी नियुक्ति प्रक्रियामा हुने अनावश्यक ढिलाइ र विवादले सरकारको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ ।

संवैधानिक अंग, आयोग, नियामक निकायदेखि लिएर महत्त्वपूर्ण प्रशासनिक पदहरूमा हुने नियुक्तिमा भइरहेको अस्वाभाविक ढिलाइको मूल कारण राजनीतिक भागबन्डा, व्यक्तिगत स्वार्थको टकराव र गुटगत मनोवृत्ति नै हो । योग्यताको मापदण्डभन्दा बढी प्राथमिकता सत्ता समीकरणले पाउने अभ्यासले पक्कै पनि आशातीत परिणाम दिन सक्दैन ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको पछिल्लो ढिलाइ यस प्रवृत्तिको ज्वलन्त उदाहरण हो । स्पष्ट प्रक्रिया र कारणबिना सरकारको आर्थिक सल्लाहकार र समग्र आर्थिक क्षेत्रको नियामक निकायको निर्णायक भूमिकाको गभर्नर पदमा समयमै नियुक्ति नहुनु साँच्चै लाजमर्दो विषय हो । यो केवल नियुक्तिमा देखिएको ढिलाइ मात्र होइन, प्रणालीगत कमजोरीको प्रतिबिम्ब पनि हो । नेपाल राष्ट्र बैंक देशको मौद्रिक नीति निर्माण गर्ने, बैंकिङ प्रणालीलाई स्थायित्व प्रदान गर्ने, बजारमा अनुशासन कायम गर्ने र सरकारलाई आवश्यक वित्तीय राय, सल्लाह र सुझाव दिने महत्त्वपूर्ण निकाय हो । यस्तो निकायको नेतृत्व गर्ने गभर्नर पदको नियुक्तिमा देखिएको अन्योलले देशको समग्र आर्थिक स्थायित्वमा गम्भीर असर पार्न सक्छ ।

नियुक्तिमा हुने विवाद र ढिलाइका कारण जिम्मेवारी सम्हाल्ने पदाधिकारीले पनि आत्मविश्वासका साथ कार्य सम्पादन गर्न सक्दैनन् । अपारदर्शी नियुक्ति प्रक्रियाकै कारण नियुक्त हुने गभर्नर वा अन्य पदाधिकारीबारे अनेकौं प्रश्न उठ्छन् । यसको प्रत्यक्ष असर उनीहरूको निर्णय प्रक्रियामा पनि पर्छ । गभर्नरको नेतृत्वमा सार्वजनिक हितमा हुने गरी मौद्रिक नीति तयार हुन्छ । तर राजनीतिक सिफारिसको बोझ बोकेर आएका व्यक्तिबाट त्यस्तो स्वतन्त्र र निष्पक्ष भूमिकाको अपेक्षा गर्नॅ कठिनै होला ।

खासगरी सरकार, सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूका लागि यो गम्भीर आत्मसमीक्षाको घडी हो । राज्यका निकायहरूबाट परिणाम र जनविश्वास आर्जनका लागि पनि भागबन्डा होइन, कानुनी र संस्थागत विधिमा आधारित भएर नेतृत्व चयन गरौं । नियुक्तिपछिको नतिजा सोचेजस्तो बनाउने हो भने नियुक्तिपूर्वको प्रक्रिया नै शुद्ध र निष्पक्ष हुन जरुरी छ ।

टेकेन्द्र अधिकारी, विराटनगर

पाठक

Link copied successfully