पेन्सन, सञ्चयकोष, पोसाक, पोसाकभत्ताजस्ता धेरै कुरा शिक्षकले आन्दोलन गरेर मात्रै पाएका हुन् । सेवासुविधाका सम्बन्धमा अझै पनि शिक्षक र कर्मचारीबीचको भेदभाव प्रस्ट कायमै छ ।
पटक–पटक सहमति भएका कुरालाई कार्यान्वयन नगरेर शिक्षकलाई ढाँट्ने र झुक्याउने गरिएको छ । भद्र आन्दोलनको भाषा नबुझ्ने बानी भएर हो कि सरकारले तिनका माग सधैं बेवास्ता गर्ने गरेको छ । त्यसैले सरकारप्रति शिक्षक विश्वस्त नभएका कारण, विगतमा भएका सहमति कार्यान्वयन नगरेर बोलाइएको वार्तामा नगएर यस पटक शिक्षक महासंघले परिपक्वता देखाएको छ । पछिल्लो पटक शिक्षक आन्दोलनप्रति आएको प्रधानमन्त्रीज्यूको ‘सहानुभूतिपूर्ण प्रशंसा र सान्त्वना’बाट प्रभावित नभई माग पूरा गर्नका लागि कार्यतालिका अनुसार नै आन्दोलन जारी राख्नुपर्छ । त्यसैले ‘मेरो आन्दोलन ः मेरो सहभागिता’लाई अझै सहभागितामूलक र प्रभावकारी बनाऔं । शिक्षकका माग सम्बोधन गर्न ढिला नगरियोस् । उनीहरूका माग सधैं बेवास्ता गरिए परिणाम भयावह पनि हुन सक्छ ।
– इन्द्रकुमार श्रेष्ठ, वागीश्वरी मावि च्याह्मासिंह, भक्तपुर
