विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेसँगै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा विभिन्न अदालतमा मुद्दा दर्ता भएपछि पार्टी सभापतिको जिम्मा पार्टीकै उपाध्यक्ष डोलप्रसाद अर्याललाई सुम्पिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः पार्टीको नेतृत्वमा फर्किन गरेको कसरत पुनः तुषारापात भएको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएलगत्तै शुक्रबार काठमाडौंबाट पक्राउ परी कारागार चलानका निम्ति भैरहवा पठाएसँगै नेतृत्वमा फर्किने उनको चाहना तत्काललाई हराएको हो । आफूमाथि लगाइएका विभिन्न मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा चैत १८ गतेदेखि उनी पार्टीको नेतृत्वमा फर्किएका थिए । उनी नेतृत्वमा फर्किएसँगै पार्टीभित्र केही असन्तुष्टि बढेको छनक देखिएको थियो ।
गत सोमबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी केन्द्रीय समितिको बैठकमा पार्टीको संरचनामा उथलपुथल हुने गरी सुधार गर्ने चाहना लामिछानेले व्यक्त गरेका थिए । उनले यस्तो चाहना गर्नुलाई नै पार्टीमा जो जसरी जुन उद्देश्य लिएर भित्रियो, उसलाई उसैको चाहना अनुरूप जिम्मेवारी दिँदा पार्टी कमजोर हुँदै जाने मात्र होइन पार्टी नै सक्किनेतर्फ गएको समेत संकेत गरेका थिए । मुख्यतः प्रहरीको नियन्त्रणमा परेसँगै उनले पार्टी सञ्चालनको कार्यकारी जिम्मेवारी पार्टीकै अर्का उपाध्यक्ष स्वर्णिम वाग्लेलाई नदिएर अर्याललाई दिएदेखि नै वाग्ले चिढिएको बुझिन्छ । यद्यपि त्यतिबेला वाग्लेले सबैको सहमतिमा नै अर्याललाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको बताएका थिए ।
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेका र कांग्रेसकै कोटाबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका वाग्लेले कांग्रेसमा अपमान भएको भन्दै २०७९ मा उक्त पार्टी परित्याग गरी रास्वपा प्रवेश गरे र २०८० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यसपछि रास्वपामा रजगज गर्दै आएका थिए । वाग्ले रास्वपा विभाजन गरेर पुनः कांग्रेसमै फर्किने गाइँगुइँ चलिरहेको थियो । यही बेला लामिछानेले पार्टीमा व्यापक सुधार गर्ने गरी संरचना परिवर्तन गर्ने कुराले रास्वपामा नयाँ विवाद जन्मिएको हो । शुक्रबार लामिछानेको गिरफ्तारीसँगै तत्काललाई रास्वपाको ‘नयाँ विवाद’ मत्थर हुने संकेत मिलेको छ ।
- सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
