नयाँ सोच र भिजन बोकेर आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको मुहार फेर्न देखाएको तदारुकताले धेरैको मन जितेको छ ।
जनताको मन जित्ने केही काम गरेपछि उनका फ्यानहरूले त अहिले काठमाडौंको पर्यायवाची नाम नै बालेन सिटी राखिदिएका छन् । पुराना पार्टीहरूको अवरोध नभएको भए सायद अहिले टुकुचाको दुवैतर्फ सरर्र गाडी चलिसक्थे । बागमती र विष्णुमती करिडोर पूर्ण रूपमा सञ्चालनमा आइसक्थे । तर उनलाई संघीय सरकारले असहयोग गर्दा यी काम अहिले अधुरै छन् ।
अहिले पनि बालेनको काम गर्ने उत्साहमा खासै कमी आएको छैन । केही समयअघि विशाल बजार, इन्द्रचोकको फुटपाथ फराकिलो पारेर जनताको मन जितेका छन् । राजधानीलाई सफासुग्घर राख्न बालेनले गरेका प्रयास सराहनीय छन् । राजधानीमा आमसभा र आन्दोलन गर्दा फोहोर गर्ने, तोडफोड गर्नेलाई दण्ड जरिवाना तिराउने उनको प्रयास पनि प्रशंसनीय नै लाग्छ । सुरुमा राप्रपा, त्यसपछि एमाले र अहिले आएर पूर्वराजालाई जरिवानाका लागि महानगरले पत्र नै काटेको छ । अहिले पूर्वराजालाई जरिवाना तिराउने उनको निर्णय कानुनी रूपमा अलिक मिलेन कि ? किनकि, त्यो आन्दोलनको आयोजक भनेर बकाइदा जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन र अनुमति पत्रमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामक संस्था आयोजक भनेर उल्लेख गरिएको छ । सोही अभियानलाई जरिवाना तिराउन पत्र लेख्ने होइन र ?
- गोपाल देवकोटा,काठमाडौं–७, चाबहिल पिपलबोट
