नेपालमा विवाहलाई परम्परागत रूपमा दुई परिवारबीचको सम्बन्धका रूपमा लिने गरिन्छ । पहिलेका पुस्ताले विवाहलाई व्यक्तिगतभन्दा सामाजिक र पारिवारिक जिम्मेवारीका रूपमा हेर्थे । तर अहिले नेपाली युवामा त्यो सोचमा परिवर्तन आउन थालेको छ ।
समाजमा अहिले प्रेमविवाह गर्नेको संख्या बढ्दै गएको छ, मागी विवाहको परिभाषा पनि फेरिँदै गएको छ । पहिलेका दिनमा नेपाली समाजमा विवाह भनेको प्रायः अभिभावकको निर्णयअनुसार हुन्थ्यो ।
प्रेमविवाहलाई समाजले पहिलेभन्दा बढी स्वीकृति दिन थालेको छ, तर अझै पनि कतिपय ठाउँमा जात, धर्म, परिवारको प्रतिष्ठाजस्ता कुराले अवरोध सिर्जना गरिरहेका छन् ।
मागी विवाह पनि पहिलेजस्तो कठोर छैन । पहिले परिवारकै रोजाइमा बिहे गर्नुपर्ने बाध्यता थियो तर अहिले केटा–केटीले एकअर्कालाई चिनेपछि मात्रै निर्णय गर्ने छुट दिन थालिएको छ ।
सहरी क्षेत्रमा विशेषगरी करिअर बनाउन व्यस्त युवकयुवतीले विवाह गर्न हतार गर्दैनन् । परिवार र समाजबाट बिहे गर्न दबाब आए पनि अहिले धेरैले ‘जब आफैंलाई ठिक लाग्छ, तब मात्र विहे गर्छु’ भन्ने सोच राख्न थालेका छन् ।
समाजमा अझै परम्परागत सोच कायम भए पनि युवाहरूको विवाहप्रतिको धारणा धेरै हदसम्म परिवर्तन भएको छ । पहिले जसरी ‘विवाह नै जीवनको एउटा अनिवार्य भाग हो’ भन्ने सोच थियो, त्यो विस्तारै कम हुँदै गएको छ । अहिले प्रेमलाई महत्त्व दिने, समझदारीलाई प्राथमिकतामा राख्ने अनि विवाहलाई व्यक्तिगत रोजाइका रूपमा लिने प्रवृत्ति बढ्दै गएको छ । यो परिवर्तनले नेपाली समाजमा वैवाहिक सम्बन्धको स्वरूपलाई नयाँ मोडतर्फ डोहोर्याइरहेको संकेत गर्छ ।
- अनिसा श्रेष्ठ, काठमाडौं
