अब थप अस्थिरता सहन सक्दैनौं

चैत्र ११, २०८१

पाठक पत्र

We cannot tolerate more instability

नेपालको राजनीतिक परिदृश्य फेरि उथलपुथलतर्फ उन्मुख हुने संकेत देखिँदै छ ।

परराष्ट्रमन्त्रीको भारत भ्रमणपछिको अभिव्यक्ति, रवि लामिछानेको आन्दोलनको आह्वान, अमेरिकाको सम्भावित नेपाल नीति, सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिस्ट’मा पर्ने जोखिम, विदेशी दाताहरूको सहयोग कटौती, भारतमा गणतन्त्र र माओवादी जनयुद्धबारे उठेका प्रश्न, पूर्वराजाको सक्रियता र राजावादीको बढ्दो चहलपहलले नेपालको राजनीति जटिल मोडतर्फ गइरहेको संकेत देखिएको हो । यी घटनाक्रमले नेपाललाई स्थिरतातर्फ लैजानेछन् कि पुनः अस्थिरताको दलदलमा धकेल्नेछन् भन्ने प्रश्नले जनमानसमा अहिले गहिरो चासो पैदा गरेको छ ।

परराष्ट्रमन्त्रीले भारत नेपाल सरकार परिवर्तन गर्न चाहँदैन भनेपछि केही स्थिरता देखिए पनि दीर्घकालीन रूपमा भारतको प्रभाव कायमै रहने देखिन्छ । नेपालमा भारतको हस्तक्षेपको इतिहास लामो छ, चाहे त्यो २०६२/६३ को आन्दोलनमा होस् वा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनमा होस् । अर्कोतर्फ, रवि लामिछानेले जनतालाई आन्दोलनका लागि तयार रहन भनेका छन्, जसले विद्यमान व्यवस्थाप्रति असन्तुष्टि झल्काउँछ । तर, आन्दोलनको स्पष्ट दिशा र रणनीति नभएमा यो केवल भावनात्मक लहरमा सीमित हुने सम्भावना छ । आन्दोलनले स्थायित्व ल्याउने कि झन् अस्थिरता बढाउने भन्ने कुरामा गम्भीर छलफल आवश्यक छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै नेपाल नीति कस्तो हुन्छ भन्ने चासो पनि बढेको छ । उनको पहिलो कार्यकालमा यूएसएआईडीमार्फत आएको सहयोग संघीयता कार्यान्वयनका लागि भए पनि यसको ठूलो हिस्सा भ्रष्टाचार र अनियमिततामा गुमेको आरोप छ । यदि अमेरिकाले सहयोगमा कटौती वा कडाइ गर्‍यो भने नेपालको आर्थिक स्थिरतामा असर पर्न सक्छ । यसैगरी, नेपाल ‘ग्रे लिस्ट’मा पर्ने जोखिममा छ, जसले विदेशी लगानी घटाउने, व्यापारमा अवरोध ल्याउने र आर्थिक संकट गहिराउनेछ । नेपालमा भ्रष्टाचार र गैरजवाफदेही नेतृत्वका कारण यो जोखिम बढिरहेको छ, जसले हाम्रो समृद्धिको यात्रा कठिन बनाउन सक्छ ।

पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो सक्रियता, भुटानमा उनलाई दिइएको सम्मान, भारतीय नेताहरूको अभिव्यक्ति र नेपालमा राजावादीहरूको बढ्दो चहलपहलले गणतन्त्रबारे नयाँ बहस उत्पन्न गराएको छ । गणतन्त्रप्रति असन्तुष्टिहरू भए पनि, राजसंस्थाको पुनरागमन नै समस्याको समाधान हो त ? विश्वमा धेरै मुलुकले प्रजातान्त्रिक व्यवस्थालाई सुदृढ गर्दै समृद्धि हासिल गरेका छन्, तर नेपाल फेरि विगततर्फ फर्किन खोज्दै छ कि भन्ने चिन्ता उठेको छ ।
नेपालको राजनीतिक खिचडी कसले पकाइरहेको छ र यसको अन्तिम स्वरूप कस्तो हुनेछ भन्ने अझै स्पष्ट छैन । यस्ता घटनाक्रमले मुलुकलाई अस्थिरतातर्फ लैजान सक्छन्, यदि सही दिशामा सोचिएन भने । नेपाली जनताले आन्दोलनभन्दा संवाद, लहैलहैभन्दा सुशासन, परनिर्भरताभन्दा आत्मनिर्भर अर्थतन्त्रको बाटो रोज्नुपर्छ । अबको बाटो अराजकता होइन, समझदारी, सुशासन र समृद्धिको हुनुपर्छ । हाम्रो भविष्य हाम्रै हातमा छ– सही निर्णय लिनु अबको आवश्यकता हो ।

- सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully