सुर्खेत वीरेन्द्रनगरको खारखोलीमा बस्छु । परिवारमा छोरा, छोरी, बुहारी र म गरी चार जना छौं । छोरा डेढ वर्षको र छोरी गर्भमा हुँदा कामको खोजीमा हिँडेका श्रीमान् बेपत्ता हुनुहुन्छ ।
मजदुरी र झाडुपोछा गरेर छोराछोरी हुर्काए पनि पढाउन सकिनँ । कैयौं रात भोकै सुतेका छौं । छोरा अहिले मजदुरीका लागि भारत गएको छ ।
मलाई अरूको घर र खेतीपाती देख्दा आफ्नो पनि भैदिए कस्तो हुन्थ्यो जस्तो लाग्छ, तर त्यो सपना जस्तै छ । २०५८ सालदेखि सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ खारखोलीको सरकारी जग्गामा बस्दै आएकी छु । कोरानाको समयमा हाम्रो घर भत्काइयो । यहाँका केही परिवार कता गए थाहा भएन । हामी पाँच घरका ६ परिवार भने कहीं जान सकेनौं । हामीलाई जा भनियो तर जाने ठाउँ देखाइएन । त्यसैले कहाँ जानू ? मेरो छोरा र मैले भाँडा माझेको पैसाले बनाएको घरमा डोजर लगाएर भत्काइयो । मुटुमै डोजर लगाएभन्दा बढी पीडा भयो । अनेक गाली बेइज्जती र जबर्जस्ती गरियो तर पनि फेरि घर टालटुल गरेर बसिरह्यौं ।
अहिले फेरि केही दिनदेखि निद्रा न भोकतिर्खा भएको छ । चैत ११ गते दिउँसो १ बजे घर भत्काउने भनी माइकिङ भइरहेको छ । हामीले नगर प्रमुखलगायतलाई धेरै पटक अनुरोध गरेका छौं, हाम्रो घरबासको सुरक्षाका लागि । सुनेकी थिएँ– दलितलाई जमिन दिने कुरा संविधान र कानुनमै लेख्नुभएको छ रे ! त्यही भएर हजुरहरूले वर्षैपिच्छे के जाति (भूमि) आयोग पनि बनाउनुभएको छ । जमिन पाउने आशामा निवेदन पनि हालेका छौं । आजसम्म जग्गा त पाएनौं तर आफैंले बनाएको झुपडी पनि जोगाउन मुस्किल भइरहेको छ । कमजोरलाई राज्यले घरबास र जीविकाका लागि सहयोग गर्ने हो कि बिचल्ली बनाइदिने हो ?
हामीले जसरी पनि अहिले बसेकै जग्गा चाहिन्छ भनेका छैनौं, कतै एउटा घडेरी दिए हामी जान तयार छौं । घरबासको उचित व्यवस्था नहुन्जेल हाम्रो घर नभत्काइयोस् । कृपया म भूमिहीन दलित एकल महिलाको कुरा हजुरले त पक्कै सुनिदिनुहोला । मलगायत हामी ६ परिवारको घरबास जोगाइदिनुहोला ।
– नन्दकला कामी, सुर्खेत
