त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियुको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनले धेरैको ध्यान खिचेको छ ।
अहिलेको निर्वाचनमा राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीका समूहले भाग लिएका हुन् ।
चुनावबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित भए । निर्वाचन निर्देशिकाले २ सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, २ सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, १ हजारदेखि ३ हजारसम्म भए १९ र त्यसभन्दा बढी भए २१ सदस्यीय स्ववियु कार्यसमिति बन्ने तोकेको छ ।
पदाधिकारी चयन हुने यति राम्रो प्रावधान हुँदाहुँदै स्वार्थी राजनीतिज्ञका कारण २०६३ सालयता विद्यार्थी संगठनको संख्या ह्वात्तै बढेको, दलहरूले स्ववियु निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको, आफ्नो दल समर्पित विद्यार्थी पराजित हुने देखेपछि भाँडभैलो मच्चाउन पछि नपरेको, मुठभेड मच्चाएको लगायत सन्दर्भको जति आलोचना गरे पनि कमै हुन्छ ।
लोकतन्त्र स्थापनापछि नेताहरूकै कारण विद्यार्थीवीच तिक्तता बढेको, शिक्षाको गरिमामाथि प्रहार गर्दै तालाबन्दी एवं विध्वंसात्मक कार्य गर्न विद्यार्थी नेतृत्व पछि नपरेको यथार्थबाट हामी अनभिज्ञ छैनौं । जसको नकारात्मक असर यस पटकको स्ववियु निर्वाचनमा पनि देखियो ।
— भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
