समाजमा रहेको विषाक्त तस्बिर सार्वजनिक

चैत्र ८, २०८१

पाठक पत्र

The toxic image in the society is public

धर्मका नाममा जब अन्याय र अत्याचार गरिन्छ, तब त्यो धर्मको पवित्रतामा पनि धक्का पुग्न जान्छ । कान्तिपुरमा प्रकाशित ‘महायज्ञ गर्न भन्दै दलितको घरमा डोजर लगाएर उठीबास’ शीर्षक समाचारले समाजमा अझै पनि धर्मका नाममा पाखण्ड र विभेद कायमै रहेको देखाएको छ ।

महायज्ञको आयोजनाका नाममा दलित परिवार, विशेष गरी दीपक मलिक डोम र उनको परिवारलाई घरमा डोजर चलाएर उठीबास गरिनु कुनै पनि हिसाबले धार्मिक कार्य हुन सक्दैन । यो निर्मम अत्याचार हो, समाजका सबै वर्गलाई समान सम्मान दिने सनातन धर्मको मूल शिक्षाको विरुद्ध पनि हो ।

धर्मका नाममा यस्ता भेदभावपूर्ण क्रियाकलाप गरिनु बर्बरताको परिचायक हो । यज्ञजस्तो पवित्र कार्यमा सबै जात, धर्म र समुदायका मानिसलाई समान रूपमा स्वीकार गरिनुपर्छ । तर त्यही स्थानमा जब भेदभावको विष घोलेर दलितलाई घरबाटै उठीबास लगाएर यज्ञ सञ्चालन गरिन्छ, तब त्यो धर्म होइन, धर्मका नाममा कलंक हो । दलित परिवारलाई घरविहीन पार्ने जुन कार्य गरिएको छ, त्यसले समाजमा रहेको भेदभाव र जातीय विभेदको विषाक्त तस्बिर पनि देखाएको छ ।

यदि यज्ञका आयोजकहरू साँच्चै नै धार्मिक छन् भने उनीहरूले गरेको ७ जनाको परिवारलाई घरबारविहीन तुल्याउने यो पापको प्रायश्चित्त गर्नैपर्छ । साथै दलित परिवारलाई उठीबास गराउनेलाई कानुनी कारबाही गर्न पनि ढिला गरिनु हुँदैन ।

अब प्रश्न उठ्छ— के धर्मका नाममा हुने यस्तो पाखण्ड सधैं सहेर बस्ने ? के हामी अझै पनि यस्ता ढोंगीहरूको ठगाइमा पर्नुपर्ने ? धर्मका सच्चा अनुयायी, बौद्धिक समुदाय र न्यायप्रेमी नागरिकले अब मौन बस्नु हुँदैन । समाजमा फैलिएको यस्तो धार्मिक पाखण्डको पर्दाफास गर्नैपर्छ ।

धर्मको रक्षा भनेको साँचो न्यायको रक्षा गर्नु हो, पाखण्डीहरूको जयगान गर्नु कदापि होइन ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully