फागुन १२ मा झापाबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल माओवादीको पूर्व–पश्चिम हुलाकी तराई मधेश जागरण अभियान १२ दिन पुग्दा नपुग्दै रौतहटमा आएर स्थगित भयो । राजावादी सक्रिय हुन थालेको भन्दै चैत ८ गतेसम्म तय गरेको कार्यक्रम माओवादीले बीचैमा स्थगित गरेको हो ।
वर्तमान सत्ता गठबन्धनलाई चुनौती दिने गरी जनताको माझमा गएको माओवादी राजावादीको सक्रियता देखेर एकाएक अत्तालिन पुगेको छ । आफूले सुरु गरेको जागरण अभियान क्रमशः निस्क्रिय हुँदै जान थालेको र सोही अवस्थामा राजावादीको बढेको एकाएकको सक्रियताले माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहाललाई फाइदै पुगेको देखिन्छ । किनकि एकै पटक लामो समयका लागि मिति तोकेर गरिएको कार्यक्रममा जनसहभागिता ओरालो लाग्दै जान थालेको अवस्थामा माओवादीले उक्त कार्यक्रमबाट विश्राम लिन चाहेको बुझिन्थ्यो ।
आफूलाई सत्ताबाट हटाएर जनताको माझमा पुर्याइदिएकामा वर्तमान सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र एमालेलाई धन्यवाद दिँदै आएको भए पनि सत्ताबाहिर रहनुपर्दा दाहालमा छटपटी बढेको स्पष्टै देख्न सकिन्छ ।
परिस्थितिअनुसार बोली फेर्न खप्पिस दाहालका लागि पुनः एक पटक राजावादीले पुरानै सहयात्री दल कांग्रेस र एमालेसँग मिलेर सत्ताको रथारोहण गर्न सक्ने बाटोतर्फ उन्मुख हुने अवसर जुराइदिएका छन् । त्यसैको फलस्वरूप उनी हिजोआज कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवाद र भेटघाटमा बाक्लै संलग्न हुन थालेका छन् । गणतन्त्र ल्याउनका जुन जुन राजनीतिक दल सक्रिय थिए, तिनै दल यो व्यवस्थालाई जोगाउनका लागि पुनः एक हुनुपर्ने भन्दै दाहाल अहिले संवादमा अग्रसर देखिएका हुन् । तर व्यक्तिगत स्वार्थ बेगर कुनै काम नगर्ने उनी यतिबेला साँच्चै वर्तमान व्यवस्था संकटमा पर्न लागेकामा चिन्तित भएका हुन् या मौकामा चौका हान्ने उनको दाउ मात्र हो, योचाहिँ बुझ्न कठिन छ ।
सशस्त्र युद्धकै बेला राजासँग मिलेर जानुपर्ने तर्क राख्ने गरेका दाहाललाई त्यत्रो व्यवस्था परिवर्तन भइसकेर यहाँसम्म आइपुगिसकेको अवस्थामा दुई–चार हजार मानिसले पूर्वराजालाई विमानस्थलबाट घेरेर घरसम्म पुर्याउँदैमा यत्तिविधि सातो जानु नपर्ने हो । तर उनका पछिल्ला गतिविधिले उनी निकै डराएको बुझ्न सकिन्छ । पछिल्ला दिनमा दाहालले राजालाई ‘भाइमारा’ र ‘मूर्तिचोर’ सम्मको आरोप लगाएका छन् । जबकि उनले त्यसको कुनै प्रमाण भने देखाउन सकेका छैनन् । यस्ता प्रमाणबिना बोलिएका कुराले भविष्यमा आफ्नै धरातल कमजोर पार्ने काम मात्र गर्नेछ । पूर्वराजालाई त्यस्ता आरोप लगाएर उनको पक्षमा लागेका जनतालाई भड्काउन सकिन्छ भन्ने दाहाललाई लागेको होला । तर यस्ता कुराले अहिलेको अवस्थामा खासै परिवर्तन ल्याउने देखिँदैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
