करिब तीन महिनाअघि तपाईंले आफ्नै अध्यक्षतामा बसेको काठमाडौं विश्वविद्यालय सभाबाट केयूको रिक्त उपकुलपति नियुक्तिका लागि यौटा छनोट समिति गठन गर्नुभएको थियो ।
समितिले आफ्नो कार्यविधि आफैं तोक्न पाउने गरी स्वायत्तता दिइएको र सभाले विश्वास गरेका व्यक्तिहरू नै समितिका संयोजक र सदस्य बनाइएका थिए ।
तर अफसोच ! समितिका सदस्यले आफूले बनाएको कार्यविधिअनुसार तयार भएको योग्यताको सूचीमा परेका तीन जनाको नाम तपाईंलाई सिफारिस गर्नुको सट्टा आ–आफ्नो उम्मेदवारको वकालत गर्दै हिँडे र आफूलाई सुम्पिएको जिम्मेवारी बहन गर्न सकेनन् ।
तपाईंको पहलमा चैत ४ गते सोमबार सोही विषयमा छलफल गर्न केयू सभा बोलाइएको छ । तसर्थ केही सुझाव दिन मन लाग्यो । विश्वविद्यालयको कामकाजमा प्रत्यक्ष असर पुग्ने गरी समितिले देखाएको रबैयाका लागि उक्त छनोट समितिलाई जिम्मेवार बनाउनूस् र उनीहरूलाई उचित दण्ड दिनुहोस् । कमसेकम स्पष्टीकरण भए पनि माग्नुहोला ।
अहिलेको समिति भंग गर्नु त पर्छ नै, फेरि अर्को समिति बनाएर अगाडि बढ्ने जमर्को पनि नगर्नुहोला । यसले कुलपति स्वयं र विश्वविद्यालयको छविमा दाग लाग्ने सम्भावना रहन्छ ।
सुरेशराज शर्माको संयोजकत्वमा नेपाल विश्वविद्यालयका हुनेवाला उपकुलपति अर्जुन कार्की र नेपाल सरकारका पूर्वसचिव जनार्दन नेपालसमेतको समितिले आजभन्दा एक महिनाअगाडि नै पूरा गरेको प्रक्रियालाई मान्यता दिनुहोस् ।
यसो गरिएन भने पहिलो छनोटमा योग्य ठहरिएका १० जना उम्मेदवारप्रति अन्याय हुनेछ र प्रक्रियाका आधारमा योग्यताको सूचीमा परेका तीन जनाको संवेगात्मक भावनामा चोट पुग्नेछ । यो प्रक्रियालाई त्यसै छाडेर अगाडि बढ्ने जमर्को भए यसले विश्वविद्यालयभित्र झगडाको बीउ रोप्नेछ र विश्वविद्यालय धराशायी हुने बाटोतर्फ अगाडि बढ्नेछ ।
त्यसैले, अब बस्ने भनिएको सभाअगाडि नै समितिबाट भए गरेका मूल्यांकनका दस्ताबेज अनिवार्य रूपमा मगाउनोस् र त्यही दस्ताबेजलाई सभासमक्ष प्रस्तुत गर्दै छलफल अगाडि बढाउनोस् । त्यसै दस्ताबेजका आधारमा को–को तीन जना उपकुलपति हुन योग्य सूचीमा पर्ने रहेछन्, त्यहीं निर्क्योल गर्नुहोस् । र, ती तीन जनामध्ये कुलपतिको अधिकारभित्र रही नम्बर एकमा परेको प्राध्यापकलाई त्यसै सभामा केयूको नयाँ उपकुलपति घोषणा गर्नुहोस् ।
यसले बजार वृत्तमा फैलिएका नकारात्मक हल्लालाई चिर्ने काम मात्रै गर्दैन, बल्कि कुलपतिको निष्पक्ष पहलमा केयूको भविष्य पनि सुनिश्चित गर्नेछ ।
– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं
