प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ख्यालठट्टाको विषय नभएको हुँदा ख्यालख्यालमै संशोधन गर्न नसकिने बताएका छन् । शुक्रबार कर्णाली प्रदेश संसद्लाई सम्बोधन गर्दै उनले सो कुरा दोहोर्याएका हुन् ।
यसअघि पनि उनले पटक–पटक २०८७ सालसम्म संविधान संशोधन गर्न नसकिने भन्दै आएका थिए । जसलाई लिएर कांग्रेस नेताहरूले तीव्र असन्तुष्टि पनि जनाउँदै आएका छन् ।
यो गठबन्धन सरकार निर्माणका क्रममा एमाले–कांग्रेसले ७ बुँदे सहमति गरेका थिए र त्यसको पहिलो बुँदामै संविधानमा भएका कमीकमजोरी हटाउन संविधान संशोधन गर्ने कुरा लेखिएको थियो ।
वर्तमान गठबन्धन किन भन्ने प्रश्नको उत्तरमा पनि उक्त बुँदालाई उठाउने गरिएको छ । तर बुँदा नम्बर १ बाटै ओली तर्किएको देख्दा उनको भित्री मकसद अर्कै रहेछ कि भन्ने अनुमान लगाउन पनि सकिन्छ ।
वास्तवमा मुलुकका दुई ठूला पार्टी कांग्रेस र एमालेले जनतासामु आत्मआलोचना गर्दै सबै पार्टीलाई मिलाएर संविधानको ९ वर्षको प्रयोगमा देखिएका कमीकमजोरी हटाउन गहन छलफल थाल्नुपर्छ । यसो गर्दा मात्रै मुलुक र जनताको हितमा हुनेछ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं
