दोषीमाथि कारबाही होस्

फाल्गुन २५, २०८१

पाठक पत्र

Action should be taken against the guilty

नेविसंघ होस् या अन्य कुनै विद्यार्थी संगठनको आवरणमा विश्वविद्यालयमा तोडफोड र गुन्डागर्दी गर्नु निन्दनीय हो । यसको जति नै भर्त्सना गरे पनि कम हुन्छ ।

सत्तारूढ कांग्रेसनिकट नेविसंघका नेतासहितको समूहले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार तोडफोड गरेको हो ।

परीक्षा सारेर त्रिविको मर्यादित गतिविधिमा असर पुर्‍याउन खोज्ने नेविसंघ यसमा मुख्य दोषी छ । तर, यसका साथसाथै अर्को विचारणीय कुरा के छ भने विद्यार्थीलाई यस्तो गर्न उक्साउने र हिम्मत दिनेको पनि खोजी हुनुपर्छ र उनीहरूमाथि पनि कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।

अभद्र क्रियाकलाप गर्ने विद्यार्थी शक्तिका पछाडि राजनीतिक दलका नेता वा त्रिवि पदाधिकारी वा अन्य कसैको हात छ भने पनि उनीहरूलाई कारबाही गर्न प्रशासन पछि हट्नु हुँदैन ।

नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत पाँच/सात जनाको समूहले रेक्टर खड्ग केसी र डिन शंकर खनालको कीर्तिपुरस्थित कार्यकक्षमा तोडफोड गरेको बताइएको छ ।

केन्द्रीय विभागको शुल्क घटाउनुपर्नेलगायतका माग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिमार्फत केही दिनदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरूले ज्ञापनपत्र बुझाएर रेक्टर कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरूले यस्तो तोडफोड गरेका हुन् ।

विगतमा पनि यस्ता क्रियाकलाप गर्ने शक्तिमाथि कारबाही नभएकाले उद्दण्ड शक्ति हौसिएको पनि हो । त्यसैले समयमै कारबाही र नसिहत दिन पछि नपरौं । स्ववियु चुनावले गर्दा परीक्षामा अलिक पढ्ने समय नपुग्दा ‘टाइम सारिदेऊ’ भन्दा नेविसंघले अपराध गरेझैं कुरै नसुनिदिने त्रिवि प्रशासनको पनि यसमा दोषभागी छ कि ? यतातिर पनि ध्यानदृष्टि पुर्‍याऔं ।

मनोजकुमार कर्ण,महोत्तरी

पाठक

Link copied successfully