कसले सुन्ने बागमतीको पीडा ?

फाल्गुन २३, २०८१

पाठक पत्र

Who will listen to the pain of Bagmati?

म बागमती नदी हुँ । कैयौं वर्षदेखि मेरो बहाव काठमाडौं उपत्यकामा चलिरहेको छ । आजभन्दा करिब ५० वर्ष पहिला यहाँ बसोबास गर्ने मानिसले मलाई पवित्र जल भनेर पिउँथे । मेरो स्थलमा आएर कैयौं मानिस खानेपानी भरेर लैजान्थे र नुहाउने, लुगा धुने कार्य पनि गर्थे ।

नेपालका हरेक दूरदराजका मानिस मात्र होइन, विदेशबाट नेपाल आउने मानिसले पवित्र बागमतीमा नुहाई पशुपतिनाथको दर्शन गर्नाले स्वर्ग जान पाइन्छ भन्ने मान्यताका साथ मेरो शरीरमा टेकी नुहाएर पशुपतिनाथको दर्शन गरेर जीवनमा पवित्रता महसुस गरी आफ्नो घर फर्कन्थे ।

त्यतिखेर म धेरै खुसी थिएँ । मेरो बहाव रोक्न सक्ने ताकत कसैमा थिएन । न त मेरो पवित्रतालाई अपवित्र फोहोरको डंगुरमा परिणत गर्ने हिम्मत नै कसैले गर्थ्यो । वर्षाको समयमा पनि मेरो बहावमा चञ्चलता आउँदैनथ्यो । किनकि, उक्त समयमा यो उपत्यकामा न त धेरै घर बनेका थिए, न त बस्तीहरू नै बढेका हुन्थे । पछि बिस्तारै काठमाडौं उपत्यकालाई देशको राजधानी सहर बनाइयो । बिस्तारै यहाँका रैथाने बासिन्दा विस्थापित भए । सबै कुराको सुविधा देखेर कैयौं मानिस यहाँ जागिर खान आउन थाले र उनीहरूको इच्छा यो उपत्यका अर्थात् काठमाडौं, भक्तपुर र ललितपुरमा केही आना जग्गा किनेर घरजम गर्ने मनसाय हुन थाल्यो । यो उपत्यकामा अस्थायी रूपमा काम गर्न आउने मानिसमा समेत यहीँ बसोबास गर्ने मोह जाग्न थाल्यो ।

राजधानी सहर भनेर होला, हरेक सुविधा पहिला यहीँ नै पाइने हेतुले मानिसको चाप झन् बढ्न थाल्यो । कैयौं उब्जनीयोग्य खेती हुने ठाउँ बिस्तारै मानवबस्तीमा परिणत भए । मानिसको चाप यसरी बढ्यो कि सानो क्षेत्रफलमा बनाइएका घरमा पनि चर्पी राखी त्यसको ढल निकासको मार्ग म आफैं भएँ ।

जब आकाशमा गड्याङगुडुङ बिजुली चम्किन्छ र भारी वर्षा हुन्छ– तब प्रकृतिले मलाई बहुलाउन बाध्य बनाउँछ । बर्खाको समयमा म बेहोसीझैं हिँड्न र बहन बाध्य छु । तैपनि कसले सुन्ने मेरो पीडा अनि कथा व्यथा ?

खिमराज गिरी, काठमाडौं

पाठक पत्र

Link copied successfully