कान्तिपुरमा फागुन १५ मा प्रकाशित ‘निगमका चारमध्ये तीन जहाज ‘ग्राउन्डेड’, २ हजार यात्रु अलपत्र’ शीर्षक समाचार पढ्दा साह्रै दुःख लाग्यो ।
एकातिर यात्रु आवागमनको चाप बढेर महँगो दरमा हवाई टिकट बिक्री भइरहेको छ भने अर्कोतिर राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका दुई न्यारोबडी र एउटा वाइडबडी एकैसाथ ‘ग्राउन्डेड’ भएर यात्रु अनावश्यक तनाव र अलपत्र पर्नुपरेको छ ।
निगमसँग भएका ४ वटा जेट विमानमध्ये ३ वटा ग्राउन्डेड छन्, यसो हुँदा भारत, मलेसिया, साउदी अरबलगायत ६ वटाभन्दा बढी गन्तव्यका लागि अग्रिम तय भएको उडान अन्तिम समयमा रद्द गरिएका हुन् । अनायास र लापरबाहीपूर्ण व्यवस्थाका कारण २ हजार यात्रु अलपत्र परेको निगमले स्विकारेको छ । ठूलो संख्यामा अलपत्र परेका यात्रुलाई होटलमा राख्दा, खाना र उडान व्यवस्था गर्नुका साथै कतिपयलाई अन्य विमानबाट पठाउँदा निगम प्रशासनलाई सास्तीका साथ आर्थिक व्ययभार पनि परेको सहजै अनुमान लगाउन सकिन्छ ।
अहिले आएर निगमको एउटै वाइडबडीले मात्र १० गन्तव्यमा थेग्नुपरेको छ । यसबाट उडानमा ढिलाइ, अनावश्यक र अतिरिक्त खर्च हुँदा यात्रुलाई ढिलाइ र तनाव थपिएको छ ।
कमिसनको चलखेलमा ऋण काढेरै थोत्रा जहाज खरिद गरेको निगमले गन्तव्य भने घटाएको छ । विमान
एकपछि अर्को गरी बिग्रेकै छन् । तर यस्ता समस्यामा पनि निगम व्यवस्थापनलाई कुनै चिन्ता छैन, जिज्ञासा वा प्रश्न गर्दा खासै समस्या नभएको र भोलि–पर्सिमा सबै जहाजले उडान थालिहाल्ने गैरजिम्मेवार जवाफ दिन्छन् । यस्तो गैरजिम्मेवारपूर्ण र बेथिति कहिलेसम्म ?
— गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची
