देशलाई फेल कसले गरायो ?
सम्माननीय प्रधानमन्त्रीज्यू, केही दिनअघि तपाईंले धेरै विद्यार्थीलाई फेल गराएकाले शिक्षकको तलब वृद्धि नगर्ने भनी दिएको भाषण सुनेर दुःख लाग्यो ।
यो वक्तव्य तपाईंले देखेका अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका आधारमा दिनुभएको अभिव्यक्ति भए पनि यसले कतिपय इमानदार, मिहिनेती र कर्तव्यनिष्ठ शिक्षकमाथि निर्मम प्रहार गरेको छ । एउटा प्राइभेट विद्यालयको शिक्षकका तर्फबाट म तपाईंलाई केही प्रश्नसहित यो पत्र लेख्दै छु ।
खासमा म सरकारी विद्यालयको शिक्षकको मात्र होइन, सिधा तरिकाले आउने अधिकृतको तलबले पनि जिन्दगी नचल्ने देखेर सरकारी जागिरका लागि कहिल्यै कोसिस नगरेको मान्छे हुँ । त्यति मात्र होइन, प्रतिस्पर्धाबाट सरकारी जागिर खाएर पनि नेता र मन्त्रीको सोर्सफोर्सबिना सरुवा र बढुवा पनि नहुने बुझेर त्यतातिर लाग्ने मन भएन ।
आफ्नो रुचि र स्वभावले मलाई शिक्षक बन्न प्रेरित गर्यो । बिहानदेखि बेलुकासम्म मिहिनेत गर्छु । झन्डै १० घण्टा पढाउँछु । तलब सरकारीभन्दा राम्रो पाउँछु । नतिजा हेर्ने हो भने तपाईंले दिएको तथ्यांकसँग मैले हालसम्म पढाएका विद्यार्थीको तथ्यांक मिल्दैन । अर्थात् प्राइभेट विद्यालयको नतिजा कमजोर छैन । तर, अचेल विद्यार्थीको मनोविज्ञान फरक छ, यो देशमा पढेर पाइने केही छैन भन्ने मानसिकताले विद्यार्थी पढाइमा जिम्मेवार देखिन छोडेका छन् । यस्तो अवस्थामा मलाई अथवा एउटा शिक्षकलाई विद्यार्थीको नतिजा राम्रो ल्याएर देखाउन कति चुनौती छ । एक पटक कक्षाकोठामा पढाएको अनुभवले बोल्नुस् अनि थाहा पाउनुहुन्छ भाषण र काम गर्नुमा कति फरक छ ?
एक पटक तपाईं आफूलाई शिक्षकको ठाउँमा राखेर हेर्नुस् त । त्यो तलबले तपाईं र तपाईंको परिवारका आवश्यकता, स्वास्थ्य उपचार, सन्तानको पठनपाठन र गुणस्तरीय जीवनशैली यापन गर्न सक्नुहुन्छ ? खुसी र हँसिलो अनुहार लिएर कक्षामा जान सक्नुहुन्छ ? घरको सन्तानलाई टीका लगाएर आशीर्वाद दिँदा मजस्तै शिक्षक हुनु भन्न सक्नुहुन्छ ?
यदि शिक्षकलाई मात्र विद्यार्थीको नतिजामा दोष दिइन्छ भने यसले शिक्षकको मनोबललाई कमजोर बनाउन सक्छ र शैक्षिक प्रक्रियामा दबाबका कारण उनीहरूको कामको गुणस्तरमा नकारात्मक प्रभाव पर्न सक्छ । यसै त शिक्षण पेसामा मान्छे आउनै छोडे । भएकाले छोडेर कोरियाको बाटो ताक्दै छन् । तपाईं भएका शिक्षकको मनोबल बढाउनभन्दा उल्टै टोकस्नु हुन्छ ।
होइन, विद्यार्थी फेल भएको जिम्मेवारी शिक्षकले लिने हो भने अहिले देशको अवस्था यस्तो नाजुक छ । अन्तर्राष्ट्रिय जगत्मा नेपाल ठगहरूको देश बनिसक्यो । सार्वजनिक ऋण २६ खर्ब छ । मजस्ता विद्यालयमा पढाउने शिक्षक र अझ सामान्य नागरिकको टाउकामा ९० हजार ऋण छ । भन्नुस्– यो देश फेल भएको अवस्था होइन र ? तपाईंले यसको जिम्मा लिनुपर्दैन ?
कृष्णप्रसाद शर्मा
दाङ, हाल: बानेश्वर, काठमाडौं
