किन हाम्रा नेताले विदेशबाट सिक्दैनन् ?

फाल्गुन १६, २०८१

पाठक पत्र

Why our leaders do not learn from abroad?

हाम्रा नेताहरू, इन्जिनियरहरू र ठेकेदारहरूको दक्षता हेर्ने एउटा नमुना हो– काठमाडौंको ग्वार्कोमा बनिरहेको फ्लाइओभर ब्रिज । कान्तिपुरले यस सम्बन्धमा धेरै पटक समाचार पनि प्रकाशन गरिसकेको छ ।

पछिल्लो पटक माघ पहिलो साता प्रकाशित समाचारले धेरैको मन छोएको थियो ।
यसको निर्माण सुरु भएको कति महिना बित्यो ? कति पटक डिजाइन परिवर्तन गरियो ? किन ठेकेदार बीचबीचमा काम छोड्दै हिँड्छन् ? किन सरकार काम गराउन सक्दैन ? लाखौं जनताले कहिलेसम्म सास्ती भोगिरहने हो ? के सरकारसँग यसको कुनै जवाफ छ ? जाबो ५ सय मिटरको फलाइओभर समयमा बनाउन नसक्ने हाम्रा नीति निर्माताले विकास र समृद्धिको काम गर्छौं भनेर दिने भाषणलाई कसरी विश्वास गर्ने ?
नेतामा इच्छाशक्ति भएमा १० वर्षमै देशमा ठूलो विकास र परिवर्तन सम्भव छ भन्ने दृष्टान्त थाइल्यान्डले देखाएको छ । हाम्रा नेता र नीति निर्माताले किन यो कुरा देख्न सक्दैनन् ? हाम्रा नेतामा भिजन र इच्छाशक्तिको कमी भएर हो या उनीहरूमा देश विकास गर्ने तौरतरिकाको ज्ञानै नभएर यस्तो भएको हो, बुझ्नै सकिएन ।

हाम्रा नेताहरूले सधैं एउटै रटान लगाइरहेका हुन्छन्, अब नेपाललाई सिंगापुर र जापानजस्तो बनाउँछौं । बर्सेनि राष्ट्रकोषबाट रकम खर्चिएर विदेश शयर पनि गर्छन् । तर, उपलब्धि कागजमा सिवाय व्यवहारमा देखिएको छैन । हाम्रा नेताहरूको विदेश भ्रमण केवल तिनीहरूको व्यक्तिगत मनोरञ्जनका लागि मात्र भएको देखिन्छ । त्यसबाट देश विकासमा कुनै टेवा पुगेको छैन ।

बैंकक सहर घुम्दा पूरै सहर नै आकाशे पुलैपुलको सहरजस्तो लाग्यो । एक–दुई तलाको मात्र होइन, तीन–चार तलाका पुल पनि देखिए । गगनचुम्बी सयौं घरले मात्र होइन, छाओफेरी रिभरमाथि हिँड्ने रात्रिकालीन क्रुज डिनरबाट देखिने प्रकाशकुञ्जले पनि बैंककको विकास, समृद्धि र वैभवलाई देखाइरहेको थियो । कमसेकम एकपटक नेपाल सरकारकै तर्फबाट प्रतिनिधिसभाका २७५ सांसदलाई छाओफेरी नदीमाथिको रात्रिकालीन दृश्यावलोकन गराइदिने हो भने हाम्रा नेतामा पनि विकास र समृद्धिको चेत पलाउँथ्यो कि ?
२५ वर्षअघिसम्म नेपाल, थाइल्यान्ड, मलेसिया र दक्षिण कोरिया उस्ताउस्तै अवस्थामा थियौं । तर आज हामी कहाँ छौं ? उनीहरू कहाँ पुगिसके । के कुराले रोक्यो हामीलाई देश विकास गर्न ? कमसेकम समयमा ठेक्का नसकाउने ठेकेदारलाई कडा कारबाही गर्न सक्ने कानुन बनाउन सके मात्र पनि देशले विकासमा ठूलो फड्को मार्ने थियो कि !

गोपाल देवकोटा, काठमाडौं महानगरपालिका–७, चाबहिल, पीपलबोट

पाठक पत्र

Link copied successfully