प्रधानमन्त्री ओली मधेशवादी दललाई चिढाउँदै

फाल्गुन १५, २०८१

पाठक पत्र

Prime Minister Oli teasing the Madhesh party

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संघीयताका बारेमा बोलेका कुराले मधेशवादी दल थप चिढिन पुगेका छन् ।

ओलीले संघीयता संविधानको अन्य आधारभूत विषयजस्तो नभएको, यसको संख्या र रूप फेर्न सकिने भनी दिएको अभिव्यक्तिले संसद्मा पेस भएका अध्यादेश पास गराउन प्रधानमन्त्रीलाई थप सकस हुने स्थिति सिर्जना गरिदिएको छ ।

जसपा, नेपाललगायतका मधेसवादी दलहरू जसले संघीयतालाई आफूहरूको बटम लाइन मान्छन्, उनीहरूले ओलीले आफ्नो बोली नसच्चाएसम्म सरकारले पेस गरेको अध्यादेशलाई साथ देलान् त ? यो पक्ष पनि अहिले विचारणीय बनेको छ ।

मधेशवादी दलहरू आफूहरूको आन्दोलनकै कारण नेपालमा संघीयता आएको, संविधानमा समावेश गरिएको हुँदा यो मास्ने, फेर्ने र हटाउने कुरा सुन्न पनि नसकिने बताउँदै आएका छन । उनीहरूले प्रधानमन्त्री ओली संघीयताप्रति अनुदार रहेको र त्यसै कारण प्रदेशलाई अधिकार नदिएर संघीयता विफल पार्न खोजेको पनि आरोप लगाउँदै
आएका छन् ।

ओलीको संघीयताबारेको पछिल्लो अभिव्यक्तिले मधेशवादी दलहरूको शंकालाई झनै बल प्रदान गरेको हो ।

गोपाल देवकोटा, कामनपा–७, चाबहिल, पीपलबोट

पाठक

Link copied successfully