कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस पार्टी सरकारमा बस्दा हेपिएर नबस्ने र कसैले हेप्न खोजे सरकारबाटै हट्ने अभिव्यक्ति दिएका छन् ।
उनको यो अभिव्यक्ति कोप्रति लक्षित हो ? अर्थात् उनले भन्न खोजेको कुरा के हो ? उनले प्रस्ट रूपमा खुलाएका त छैनन् तथापि उनले सत्ता सहयात्री दल एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै लक्षित गरेर यो कुरा भनेको अनुमान लगाउन कुनै माथापच्ची गर्नु पर्दैन ।
तर प्रश्न उठ्छ– के गगनले भन्दैमा कांग्रेस सरकारबाट हट्छ ? पार्टी सभापति शेरबहादुर देउवाले गगनको कुरा मानेर आफूले पाउने प्रधानमन्त्री पदत्याग गर्लान् ? के कांग्रेसभित्र गगनको आवाजको कदर हुन्छ र ? मलाई लाग्दैन– कांग्रेसभित्र गगनको आवाज सुनिन्छ भनेर । यद्यपि, गगनले महामन्त्रीमा राम्रो मत ल्याएर चुनाव जिते पनि कांग्रेस केन्द्रीय कार्यसमितिमा गगन अल्पमतमा छन् । ८० प्रतिशत सदस्य देउवाको पकडमा छन् । यस्तो स्थितिमा ‘गगनले जे बोले पनि देउवाले नचाहेसम्म कांग्रेसमा पात पनि हल्लिँदैन’ भन्ने मत बलियो छ । जब आफ्नो कुरा सुन्ने र मान्ने अंकगणित गगनसँग छैन भने उनले ठूलो कुरा गर्नुको अर्थ के ? सरकार छोड्छौं भनेर धम्काउनुको अर्थ के ?
देउवाभित्र रहेको पदलोलुपता नहटेसम्म गगनले जति कराए पनि केही हुँदैन । पार्टी पंक्तिबाहिर जनस्तरमा गगन देउवाभन्दा लोकप्रिय छन् । भाषणकलामा गगन देउवाभन्दा लोकप्रिय छन् तर पार्टीभित्र गगन कमजोर छन् । उनको केही चल्दैन पार्टीभित्र । यसर्थ सरकारमा होइन, पार्टीमा गगनको ध्यान र शक्ति जानु उचित हुन्छ । सरकार सञ्चालनको उच्च संयन्त्रमा बस्ने होइन, कसरी हुन्छ चाँडोभन्दा चाँडो महाधिवेशन गराएर पार्टीको साँचो आफ्नो हातमा लिने काममा गगन लाग्नुपर्छ । अन्यथा गगनको अवस्था उही जगेडा कोषमा बसेको निरीह कर्मचारीजस्तो मात्र हुनेछ ।
यसर्थ गगन र विश्वप्रकाश शर्माहरूले विधानले तोकिएकै समयभित्र महाधिवेशन नगरे आफूहरू ४ वर्ष पुगेपछि महामन्त्रीको कुर्सीमा बस्ने छैनौं भनेर देउवालाई दबाब दिन सक्नुपर्छ । ४ वर्ष पुग्नासाथ महामन्त्री पदमा बस्नु हुन्न । के त्यो गर्ने आँट छ गगनजी ? त्यति मात्र होइन, गगन/विश्वप्रकाशले फेरि पनि देउवाजी प्रधानमन्त्रीको कुर्सीमा बसे २०८४ को आमचुनावमा कांग्रेसको स्थिति झनै खस्किने हुँदा संसदीय दलको चुनाव गराएर नयाँ अनुहारलाई १६ महिनापछि प्रधानमन्त्री बनाउनुपर्छ भनेर भन्न सक्नुपर्छ । दुई दलको ७ बुँदे सहमतिमा दलको नेता प्रधानमन्त्री बन्नेछन् भन्नुको साटो व्यक्तिको नाम तोकेर दललाई ‘माइनस’ गर्ने प्रवृत्तिको गगन/विश्वले विरोध गर्न सक्नुपर्थ्यो । यसमा भने गगन र विश्वप्रकाश चुकेका छन् ।
यतिखेर देशमा त्यस्तो विषम परिस्थिति केही छैन । न बाढी पहिरो न भूकम्प, न त नाकाबन्दी र युद्धजस्तो परिस्थिति नै छ । यसर्थ महाधिवेशन पर सार्नुको कुनै औचित्य छैन । तर पनि पद प्रतिष्ठा, कुर्सी भनेपछि अधिकांश नेता हुरुक्कै हुन्छन् । देउवा पनि त्यसैमध्येमा पर्छन् । जो स्वास्थ्य, उमेर र भिजनले साथ नदिए पनि छैटौं पटक प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका छन् । तथापि, देउवा एक जनाको पदलोलुपताका कारणले सिंगै कांग्रेस पार्टी विधानले दिएको दायित्व निभाउन पछि हट्नु हुन्न । समय सीमाभित्रै महाधिवेशन गरेर अरू पार्टीलाई शिक्षा दिनुपर्ने कांग्रेस एक जनाको स्वार्थका कारण सती जानु हुन्न ।
– गोपाल देवकोटा, चाबहिल, पीपलबोट, काठमाडौं
