आदर्श पार्टी बन्ने कि विधानलाई मिच्ने ?

फाल्गुन ९, २०८१

पाठक पत्र

Become an ideal party or break the law?

विधानबमोजिम कांग्रेसको महाधिवेशन २०८२ मंसिरभित्रै गर्नुपर्ने हो । इच्छाशक्ति हुँदा असम्भव पनि छैन । समयभित्रै महाधिवेशन गरेर अरू पार्टीका लागि आदर्श पेस गर्ने सुवर्ण अवसर पनि कांग्रेससँग छ ।

तर महाधिवेशन सार्ने परिपञ्च भइरहेका छन् । विभिन्न कारण र स्वार्थले पार्टी सभापति शेरबहादुर देउवा समयमै महाधिवेशन गर्न अनुच्छुक भए पनि उपसभापति तथा महामन्त्रीहरूले सामूहिक अडान लिने हो भने विधानले तोकेकै समयमा महाधिवेशन हुन सम्भव छ ।

समयभित्र अधिवेशन नहुँदा केवल देउवा मात्र अक्षम हुँदैनन्, उनीपछिका पदाधिकारीहरू पनि अक्षम ठहर्नेछन् । देउवा पद भनेपछि हुरुक्कै हुने नेता भएको हुँदा महाधिवेशन धकेल्न खोज्छन् नै । यस कुराको कडा विरोध महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्न सक्नुपर्छ । गगनले एक समारोहमा आफू ४ वर्षभन्दा एक दिन पनि बढी महामन्त्रीको कुर्सीमा नबस्ने भनेका थिए । त्यो बोलीको मान उनले राख्छन् वा राख्दैनन् ? हेर्न बाँकी छ । तथापि अरू पार्टीका लागि आदर्श बाटो देखाउने कि नदेखाउने भन्ने छनोट देउवा र गगनको हातमा छ ।

अहिले कांग्रेस पार्टीभित्रको वातावरण निकै तातिएको छ । त्यसलाई तताउने काम गत शुक्रबार देउवा निवासमा भएको संस्थापन समूहको भेलाले गरेको हो । उक्त भेलाका कारण अब इतरपक्ष पनि तात्ने अवस्थामा पुगेको छ । अहिले सतहमा तीन समूह देखिएका छन् । संस्थापन समूहको नेतृत्व स्वयं देउवाले गरिरहेका छन् । संस्थापनइतर समूहमा शेखर कोइराला र गगन थापाको बेग्लै समूह छ । १४ औं महाधिवेशनमा गगन खुलेरै शेखर समूहमा लागेका थिए तर अहिले उनी कुन समूहमा छन् ? भन्ने खुलेको छैन । देउवा समूहमा शेखर र गगनजत्तिका ‘हेभी वेट’ उम्मेदवार र अनुहार खासै छैनन् । यदि शेखर र गगनबीच सहमति भएन र दुवै जना सभापति पदमै लडेमा संस्थापन समूहको कमजोर उम्मेदवारले पनि बाजी मार्न बेर लगाउँदैन । यदि शेखर र गगन मिलेर चुनाव लडेमा देउवा समूहले जति नै कोसिस गरे पनि यसपालि इतरसमूहलाई पराजित गर्न फलामको चिउरा चपाएसरह नै कठिन हुनेछ ।

इतरसमूहमा एक जनालाई पार्टी सभापति र अर्कोलाई प्रधानमन्त्री पद भनेर सहमति गर्न सके १५ औं महाधिवेशनको नतिजा इतरसमूहको पक्षमा सहजै जान सक्छ । अन्यथा फेरि पनि संस्थापन समूह नै आउन सक्छ । तर संस्थापन समूहमा पार्टी सभापति पदमा उठ्ने दजनौं अनुहार भएका हुँदा सबैलाई मिलाउन कठिन छ । देउवापछिको त्यस्तो सर्वमान्य अनुहार पनि संस्थापन समूहमा छैन ।

१४ औं महाधिवेशनमा देउवालाई त पहिलो चरणसम्म नछोडेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवापछिको अनुहारलाई ताली बजाएर स्वागत गर्लान् भनेर अनुमान गर्नु मूर्खता हुन्छ । झन् त्यसमाथि शंशाक कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलाहरू अब आफ्नै पालो हो भनेर अड्डी कसिरहेका छन् । जति मिलाए पनि संस्थापन समूहभित्रै तीन नयाँ समूह जन्मने खतरा छ । तर इतरसमूहमा धेरै अनुहार नहुँदा मिलाउन सहज छ । शेखरले गगनलाई मिलाउन सके राम्रै हुनेछ । होइन भने उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई राखेर टिम बनाउन सके बाजी मार्ने सम्भावना अधिक हुन्छ ।

गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

पाठक

Link copied successfully