हेर्दा सामान्य लागे पनि ओडिसाको कालिंगा विश्वविद्ययालयमा घटेको घटना सामान्य भने होइन । नेपालबाट अध्यन गर्न भारत गएका विद्यार्थीले ‘टर्चर’ का कारण अनायस ज्यान गुमाउनुपर्छ भने त्यसको जिम्मा कसले लिने ?
यो विषयमा सांसदमा आवाज उठ्यो तर सरकार भने मौनता साँधेर बसेको छ । यो सरासर गलत हो । हामी पनि सर्वभौसत्ता देशका नागरिक हौँ, हामीमाथि कसैले बलजफ्ती गर्छ भने सहनेवाला छैनौं । शक्ति छ भन्दैमा कमजोरलाई हेप्न पाइँदैन । हाम्रो राष्ट्र सानो होला, हामी गरिब देशका नागरिक हौँला तर हाम्रो इज्जत कम छैन । हामीले भारतीय नागरिकलाई इज्जत गर्छौं भने उनीहरूले पनि हाम्रो इज्जत गर्नपर्छ । पढ्न गएको विद्यार्थीलाई कलेजजस्तो संस्थामा हतोत्साही गर्नु निन्दनीय काम हो ।
विश्वविद्यालयले विरोध गर्ने विद्यार्थीलाई कलेजबाट निष्कासन गरेको छ । त्यति मात्र होइन, पटक–पटक विश्वविद्यालयलाई विद्यार्थीले गुहार्दासमेत सुनुवाइ नभएको खबर बाहिर आएको छ । तिम्रो देशको बजेट जत्रो हाम्रो कलेजको वार्षिक खर्च छ भनेर कलेज प्रशासनले धम्की दिनु सरासर गलत हो । दुई देशबीचको भाइचाराको सम्बन्ध बिगार्ने काम नगरौं ।
एकआपसमा मिलेर अघि बढौं । दोषीलाई हदैसम्मको कारबाही गरौं । कलेजबाट निष्कासन गरेर आँखामा छारो हाल्ने काम नगरौं । यो विषयमा भारत सरकारले राम्रोसँग सोच्नुपर्छ । नेपाली विद्यार्थीलाई हतोत्साही गरेको त हो नि भनेर गलत मानसिकता भएका व्यक्तिलाई छुट दिइयो भने भोलि भारतकै छात्रालाई पनि गलत नियत नराख्लान् भन्ने छैन ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
