लामो इतिहास बोकेको प्रहरी संगठन जनताको जीउज्यानको सुरक्षाका लागि गठन भएको हो । हरेक परिवर्तनलाई आत्मसात् गरेको संगठन राजनीतिले थला बनाएको छ ।
जो गृहमन्त्री आए पनि प्रहरीलाई आफ्नो निसाना बनाए, जसका कारण संगठनभित्रका हाकिमहरू नेताको अघिपछि दौडिन थाले । आफ्नो कर्तव्य के हो प्रहरीले बुझ्न सकेन । नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी बहन गर्न नसक्दा प्रहरीको लोकप्रियता घट्दै गयो । त्यस्तै, प्रहरीले चाहेर कुनै पनि काम गर्न सक्ने अवस्था राज्यले दिएन, जसका कारण प्रहरीको मनोबल गिर्दै गयो । जबसम्म राजनीति छायाबाट प्रहरीलाई अलग गरिँदैन, तबसम्म प्रहरी संगठन बलियो हुँदैन ।
पछिल्लो समय देखिएको समस्या जनताले प्रहरी चौकीमा एउटा उजुरी लिएर गयो भने त्यसको सुनुवाइ महिनौंसम्म हुँदैन । नेताको फोनको भरमा काम गर्न प्रहरी जनताको समस्या किन बुझ्दैन ? प्रहरीले ‘जनता हाम्रो साथी’ भन्छ । तर भनाइमा मात्र सीमित छ । सबै प्रहरी खराब छैनन् । जो खराब छन््, तिनको रजगज संगठनमा चल्छ । अनि प्रशासन कसरी चुस्त दुरुस्त बन्न सक्छ ? अहिले प्रहरीलाई नागरिकले सहयोग गर्दैनन् किनभने जसले सहयोग गर्यो, त्यो नै प्रहरी चौकी धाउँदै ठीक हुन्छ ।
संगठन बलियो बनाउन लाग्नुपर्ने संगठन प्रमुखहरू नेता रिझाउँदैमा व्यस्त छन् । अनि संगठनमा कसरी सुधार आउँछ । प्रहरीमा जागिर खान दरखास्त खोल्यो भने मागभन्दा कमले निवेदन हाल्छन् । यो भनेको संगठनप्रतिको अरुचि होइन ? संगठन आफैंमा खराब होइन, संगठन चलाउने नेतृत्व खराब भएपछि कसले सुधार्ने ?
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
