माघ २९ गते कान्तिपुरमा आसता दाहाल र शंकर न्यौपानेको संयुक्त लेख ‘औषधि र कीटाणुको जुधाइ’ पढें । डब्लूएचओले भनेको वा लेखकद्वयको निष्कर्षसँग मेरो असहमति छैन ।
तर उनीहरूले एएमआरको सम्पूर्ण कारण औषधिको जथाभावी प्रयोगलाई नै मानेका छन् । सन् १९२८ मा फ्लेमिङले पेनिसिलिन बनाए । त्यसलाई संक्रमणका लागि रामवाण भनियो । तर यसले न टीबीलाई छुन सक्यो, न त दोस्रो विश्वयुद्धपछि फैलिएको टाइफाइडलाई । टीबीका लागि सट्रेप्टोमाइसिन र सन् १९५६ तिर टाइफाइडका लागि क्लोरम्फेनिकोल बने ।
आजकाल सिफलिसबाहेक अन्यमा पेनिसिलिनको प्रयोग गरिँदैन । क्लोरम्फेनिकोल अब टाइफाइडका लागि केही कामको रहेन । यो वैज्ञानिक र चिकित्सकीय प्रयोगले नै भएको हो । जथाभावी प्रयोगकर्तामाथि नै सम्पूर्ण दोष थोपर्नु उचित होइन । मलाई थाहा छैन कि अमेरिकामा पहिले के हुन्थ्यो ? तर आज त्यहाँ चिकित्सकको पुर्जीबिना पसलबाट कुनै औषधि पाइँदैन । हाम्रो देश र भारतमा केही औषधि मात्र पुर्जीमा पाइन्छन् । यहाँ पनि सबै औषधि डाक्टरको पुर्जीमा मात्र दिने बनाइयो भने अर्को समस्या पैदा हुनेछ । त्यसले अनावश्यक रूपले गरिबहरूलाई डाक्टरकामा जान बाध्य पार्नेछ । यसले गरिबमाथि आर्थिक भार बढ्छ ।
– शिवशंकर यादव, छपकैया, वीरगन्ज
