सहकारी ठगीमा नेता–कार्यकर्ता

माघ २९, २०८१

पाठक पत्र

Leader-Activists in Cooperative Fraud

कान्तिपुरमा माघ २१ गते प्रकाशित ‘म्याग्दीको सहकारी ठगीमा एमाले नेतासहित ५ पक्राउ’ र ‘स्वर्गद्वारी गुठीपीडित लालपुर्जा माग्दै माइतीघरमा’ शीर्षकका समाचार पढ्दा अति दिक्क लाग्यो ।

पूर्वको कोशी प्रदेशदेखि पश्चिमका प्रदेशसम्म दिनहुँजसो सहकारी ठगीका समाचार पढ्न र सुन्नुपरेको छ । अधिकांश ठगीमा सत्ताधारी दल एमालेका नेता र कार्यकर्ता पक्राउ परेका देखिन्छन् । एमालेकै नेता तथा कार्यकर्ता नै सर्वसाधारण गरिब जनताले खाइनखाई जम्मा गरेको बचत रकम हिनामिना धन्दामा लाग्नाको कारण के होला ? उदाहरणका लागि कोशी प्रदेशका ऋषिकेश पोखरेलकी पत्नी, म्याग्दीका जिसस प्रमुख राजकुमार थापा, बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली आदि सहकारी ठगी प्रकरणमा मुछिएका छन् । अर्कातिर कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पत्नी सहकारी रकम ठगी प्रकरणमा मुछिए पनि कारबाही नगरेरै थामथुम पारिएकै हो । सत्ता र शक्तिको आडमा जेसुकै गर्न सुहाउँछ ? हुन त सहकारी ठगी प्रकरणमै रास्वपा सभापति रवि लामिछानेलगायतका व्यक्तिहरू पनि अनुसन्धानको घेराभित्र रुमलिएका छन् । तथापि सत्तारूढ घटककै नेता–कार्यकर्ताबाट यस्ता कार्यहरू हुनुले देशमा के भइरहेको छ भन्ने प्रश्न तेर्सिन्नन् र ? देशमा कसरी सुशासन र समृद्धि चलिरहेको छ ? बालुवाटार र सिंहदरबारका महलका आँखीझ्यालबाट यसो बाहिर हेर्ने दिन कहिले आउला, बुझी नसक्नुभएको छ ।

गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

पाठक

Link copied successfully