प्रचण्डको अभिव्यक्ति: संकट कि अवसर ?

माघ २७, २०८१

पाठक पत्र

Prachanda's expression: crisis or opportunity?

नेपालको समसामयिक राजनीति उथलपुथल र अस्थिरताले घेरिएको छ । त्यसैको सेरोफेरोमा पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाट व्यक्त भइरहने कडा अभिव्यक्तिले राजनीतिक परिदृश्य थप तरंगित बन्ने गरेको छ ।

त्यसो त प्रचण्डको सार्वजनिक अभिव्यक्ति राजनीतिकभन्दा बढी गालीगलौजमा परिणत हुँदै गएको टिप्पणी पनि भइरहेको छ । त्यति मात्र होइन यसले नेपालको भावी राजनीतिमा कस्तो प्रभाव पार्छ भन्नेबारे समेत चर्चा हुन थालेको छ । पछिल्लो समय प्रचण्ड एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा केन्द्रित हुने गरेका छन् । यस क्रममा उनले प्रधानमन्त्री ओलीलाई अनेकौं राजनीतिक एवम् व्यक्तिकेन्द्रित आरोपसमेत लगाउन भ्याएका छन् । प्रचण्डको उथलपुथलपूर्ण राजनीतिक यात्रालाई नियाल्दा आगामी दिनमा आरोपको यो शृंखला अझै बढ्दै जाने संकेत देखिन्छ । तर यो शृंखला विगतमा जस्तै ‘ढाडमा टेकेर टाउकामा हान्ने’ र ‘अन्तरविरोधलाई सक्दो उपयोग गर्ने’ सत्ताकेन्द्रित प्रचण्ड कूटनीतिबाट अभिप्रेरित होइन भन्ने स्पष्ट आधार भने भेटिँदैन । तथापि प्रचण्डको अभिव्यक्ति वर्तमान सत्ता गठबन्धनभित्र आशंका उत्पन्न गराउँदै द्वन्द्व निम्त्याउने अस्त्र भने पक्कै बन्ने देखिन्छ । त्यस्तो परिस्थिति अन्ततः नेपालको लोकतान्त्रिक प्रक्रिया र समृद्धिका लागि सोचेभन्दा घातक सावित हुने सम्भावना पनि छ ।

सकारात्मक कोणबाट हेर्दा प्रचण्डको आलोचनात्मक चेतले कतिपय एजेन्डामा ओली सरकारको कार्यशैलीलाई चुनौती पनि दिएको देखिन्छ । यदि प्रचण्ड र ओलीबीचको पछिल्लो द्वन्द्व सकारात्मक पहलकदमी र सहकार्यका साथ सतहमा प्रकट भएको हो भने यसले राजनीतिका साथै देशलाई पनि भलो गर्नेछ । तर त्यसका लागि उनीहरूले संघर्षको केन्द्रमा सहकार्य र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्छ । केवल सत्ताकेन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेर अन्तरविरोधमा खेल्ने निहित उद्देश्यले प्रचण्डबाट यस्तो अभिव्यक्ति आइरहेको हो भने त्यसले उनको राजनीतिक व्यक्तित्वमा दूरगामी प्रभाव पर्न सक्छ । कसैले माने पनि नमाने पनि नेपालको पछिल्लो राजनीति अझै केही समय प्रचण्ड–ओली, ओली–शेरबहादुर देउवा वा देउवा–प्रचण्डको आन्तरिक सम्बन्ध र उतारचढावकै वरिपरि घुम्ने अवस्था छ । यदि कांग्रेस, एमाले र माओवादीले एकअर्कोसँग सहकार्यको हात बढाउँदै असहमति हटाउने प्रयास गरे भने त्यसले नेपालको लोकतान्त्रिक प्रणालीलाई अझै सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने सम्भावना देखिन्छ । यस अर्थमा प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई आलोचनात्मक दृष्टिले मात्र नभई सहमति र सकारात्मक परिवर्तनको ढोका खोल्ने नयाँ अवसरका रूपमा पनि उपयोग गर्न सकिन्छ ।

नेपालको राजनीति सधैं यी मुख्य दलहरूको प्रतिस्पर्धा मात्र होइन । यसका धेरै तह छन् । प्रत्येक नेता र दलले समाजको समग्र फाइदा र शान्तिका लागि योगदान दिनु अनिवार्य आवश्यकता बन्दै गएको छ । यस अर्थमा प्रचण्डको रणनीति र ओली–देउवाको प्रतिवाद केवल व्यक्तिगत असन्तुष्टि र द्वन्द्वमा परिणत नहोस् भन्ने कामना गर्नुको विकल्प देखिँदैन । अतः सबैको प्रयासले त्यसलाई पुँजीकृत गरेर राष्ट्रको कल्याणका लागि सहकार्यको कडी बनाउनु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ ।

टेकेन्द्र अधिकारी, विराटनगर

पाठक

Link copied successfully