राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनी दिएको संज्ञा अझैसम्म मननयोग्य बनेको छ । सम्भवतः उतिबेलै ठूला र कडा पत्थरबीच हाम्रो मुलुक तरुलझैं कमलो, कमजोर ठानेर उनले त्यसो भनेको हुन सक्छ ।
त्यसपछिको ऐतिहासिक पृष्ठभूमिलाई केलाउँदा हाम्रो भूगोल, इतिहास, भाषा, संस्कृति, समाज, आर्थिक कारोबारलगायत विषय कुनै न कुनै रूपमा चीन र भारतसँग गाँसिएको यथार्थ स्पष्ट छ । ४ दशकअघिसम्म छिमेकीलगायत अन्तर्राष्ट्रिय जगत्मा हाम्रो साख, गरिमा उत्कृष्ट थियो । अझैसम्म १२६ जातजाति, १२३ भाषाभाषीले भरिएको हाम्रो देशमा सबैतिर मेलमिलापको वातावरण छ । जातीय, सामाजिक तिक्तताका कारण झैझगडा हुने अवस्था छैन । यो विश्वका निम्ति अनुकरणीय विषय बनेको छ । तर आर्थिक हिसाबले हामी पछाडि परिरहेका छौं, निरन्तर हारिरहेका छौं ।
सत्ताधारीबाट निकट भविष्यमा समृद्धिको ढोका खुल्ने छाँटकाँट पनि देखिँदैन । यद्यपि दुवै छिमेकीबाट हाम्रो विकासका निम्ति बर्सेनि ठूलो सहायता प्राप्त भइरहेको, त्यहाँको नेतृत्वले नेपाल अघि बढेको हेर्न चाहेको विषय ऐनाझैं छर्लंग छ । छिमेकीलगायत अन्य देश, संस्थाबाट सहयोगस्वरूप प्राप्त रकम बालुवामा पानी हालेसरह बनेको छ । भ्रष्टाचार, लुट, ठगी नियन्त्रणबाहिर पुगेको छ । पछिल्लो समय राजनीतिक नेतृत्वमा पुग्ने युवाको संख्या उल्लेख्य भए पनि तिनीहरूले हिमाल, पहाड र तराईको संरचना, जिल्लाको कथाव्यथा, समाजको रोदनक्रन्दन अनुभूत गरेको पाइँदैन । जिम्मेवार नेतृत्व कोठे राजनीतिक गफमा सीमित रहने, विज्ञता हासिल गर्नेहरू
आफ्नो डिग्रीको धाक लगाएर नथाक्ने भएपछि समृद्धिको बहुआयामिक पक्षमाथि कसको ध्यान पुग्ने ?
विषय विशेषज्ञ नभए पनि माओ त्से तुङ, महाथीर महम्मद र ली क्वान यूले विकासको कठोर नीति लागू गरेपछि चीन, मलेसिया र सिंगापुरले अकल्पनीय सफलता पाएका होइन र ? यस्तैगरी अघि बढेका अन्य मुलुकको संख्या गनेर साध्य छैन । बेल्जियम र सिंगापुरले शक्तिशाली छिमेकीहरूलाई छक्याएर अघि बढेको, भूपरिवेष्टित स्विट्जरल्यान्ड समृद्धिमा विश्वचर्चित बनेको जस्ता सन्दर्भ हाम्रा निम्ति भालुलाई पुराण सुनाएसरह कहिलेसम्म ?
– भुवनेश्वर शर्मा, बोस्टन, अमेरिका
