जापानको प्रविधि र नेपालमा सम्भावना

माघ २२, २०८१

पाठक पत्र

Japan's technology and potential in Nepal

आजको युग प्रविधिको युग हो । कुनै पनि देशको विकास, समृद्धि र दिगोपनाका लागि आधुनिक प्रविधिको योगदानलाई अस्वीकार गर्न सकिन्न ।

नेपालजस्तो विकासोन्मुख देशले जापानजस्तो प्रगतिशील मुलुकबाट धेरै सिक्न सक्छ । जापानको अत्याधुनिक प्रविधि, विशेषगरी ट्राफिक व्यवस्थापन र स्मार्ट पार्किङ प्रणाली, नेपालका लागि अनुकरणीय बन्न सक्छ ।

जापान विश्वभर उत्कृष्ट ट्राफिक व्यवस्थापन प्रणालीका लागि प्रख्यात छ । यहाँ प्रयोग गरिने ट्राफिक लाइट केवल सिग्नल देखाउने उपकरण नभई प्रविधिमैत्री प्रणाली हो । यी लाइटले सवारीसाधन र पैदलयात्रीको संख्यालाई सेन्सरमार्फत मापन गरी ट्राफिक व्यवस्थापनलाई सहज बनाउँछन् । यसले ट्राफिक जामको समस्या कम गर्न र दुर्घटनाको जोखिम घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै, स्मार्ट पार्किङ प्रणालीले सीमित ठाउँको कुशल प्रयोग गर्न मद्दत पुर्‍याउँछ । यो प्रणाली डिजिटल एप, जीपीएस र अन्य प्रविधिसँग समन्वय गरेर पार्किङ स्थान पहिचान गर्न, शुल्क तिर्न र समय व्यवस्थापन गर्न प्रभावकारी समाधान दिन्छ । नेपालमा ट्राफिक व्यवस्थापन र पार्किङको अवस्था चुनौतीपूर्ण छ ।

ठूला सहरहरूमा ट्राफिक जाम र पार्किङको अभाव दिनप्रतिदिन गम्भीर समस्या बन्दै गएको छ । जापानको प्रविधिको सही अध्ययन र अनुकूलनमार्फत नेपालले यी समस्याहरूको दीर्घकालीन समाधान खोज्न सक्छ । काठमाडौं उपत्यकामा सेन्सरयुक्त ट्राफिक लाइटको जडानले सवारीसाधनको चापअनुसार सिग्नल परिवर्तन गरेर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ । मुख्य चोकहरूमा डिजिटल ट्राफिक प्रणालीका लागि सीसीटीभी क्यामरा र नेटवर्किङ प्रणालीको प्रयोगबाट पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सकिन्छ । स्मार्ट पार्किङ प्रणाली नेपालका सहरमा लागू गर्न सकिने अर्को महत्त्वपूर्ण क्षेत्र हो । ठूला मल, कार्यालय क्षेत्र र अस्पतालजस्ता स्थानहरूमा डिजिटल पार्किङ एप र स्मार्ट कार्ड प्रणालीको प्रयोगबाट पारदर्शिता र दक्षता ल्याउन सकिन्छ । नेपालमा मल्टिलेभल पार्किङ प्रणालीको अवधारणाले पनि पार्किङ समस्यालाई समाधान गर्न सक्छ ।
नेपालले तत्काल पाइलट प्रोजेक्टको अवधारणा अघि बढाएर यी प्रविधिहरूको प्रभावकारिता परीक्षण गर्न सक्छ । जापानसँगको सहकार्यमा नेपाली प्राविधिकलाई आधुनिक ट्राफिक र पार्किङ व्यवस्थापनको तालिम दिई आवश्यक जनशक्ति तयार गर्न सकिन्छ । सार्वजनिक–निजी साझेदारी मोडलमार्फत सरकार र निजी क्षेत्रको सहकार्यले यसलाई सहजै कार्यान्वयन गर्न मद्दत पुर्‍याउनेछ । समग्रमा, नेपालले जापानको प्रविधि र अनुभवबाट सिकेर ट्राफिक व्यवस्थापन र स्मार्ट पार्किङ प्रणालीलाई लागू गरेमा सहरको ट्राफिक समस्या समाधान मात्र होइन, आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्नेछ । प्रविधिको सही प्रयोगले मात्र देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully