श्रम सम्झौता गर्ने कि स्वदेशमै रोजगारी दिने ?

माघ २२, २०८१

पाठक पत्र

Labor contract or employment in the country?

सरकारले साउदी अरबसँग श्रम सम्झौता गर्ने सहमति गरेको समाचार कान्तिपुरमा पढ्न पाइयो । सरकारले विदेशीसँग श्रम सम्झौता गरेर युवालाई विदेश मात्र पठाउने कि स्वदेशमै उद्योगधन्दा खोलेर रोजगारको अवसर दिने ?

स्वदेशमा रोजगारी नभएर बाध्यताले बिदेसिनुपरेको यथार्थ सरकारले कहिले बुझ्ने ? सबभन्दा ठूलो समस्या भनेको अहिले गाउँघरतिर बुढाबुढी र साना केटाकेटीबाहेक कोही छैनन् । यसले गर्दा गाउँका खेतीयोग्य जमिन बाँझो भएका छन् । युवा जनशक्ति नै नभएपछि उत्पादन छैन । गाउँमा सहरबाट खाद्यान्न किनेर लानुपर्ने अवस्था सिर्जना भएको छ । गाउँको खेतीपातीले सहर/बजार धान्नुपर्नेमा विदेशबाट आयाति खाद्यान्न सहरबाट गाउँ लैजानु कस्तो विडम्बना ! यसप्रति सरकार र सरोकार निकायको ध्यान कहिले जाला ?

विदेशसँग श्रम सम्झौता गर्न हुँदैन भनेको होइन । विदेश जाने युवालाई राज्यले सुरक्षित तरिकाले पठाउनु राम्रो हो । त्योभन्दा राम्रो त स्वदेशमै उद्योगधन्दा खोलेर रोजगार दिनु हो । नेपालीहरूका लागि रोजगारीको प्रमुख गन्तव्य भनेकै साउदी अरब हो । सुरक्षित गन्तव्य र कम खर्चमा साउदी जान पाइने भएर पनि नेपालीका लागि उचित भएको हुन सक्छ । साउदीमा घरेलु कामदारबाहेक नै चार लाख नेपाली कार्यरत रहेको समाचारमा भनिएको छ । चार लाख कामदार रहेको साउदीसँग सरकारले पहिला नै श्रम सम्झौताका लागि पहल गर्नुपर्थ्यो तर ढिला भए पनि काम भएको छ, त्यसलाई सकारात्मक मान्नुपर्छ ।

साउदी अरबसँगको श्रम सम्झौता श्रमिकका हितमा होस् । सरकारले आफ्ना नागरिकलाई सम्मानपूर्वक रोजगारीका लागि पठाओस् । कुनै पनि श्रमिक ठगिनबाट बचुन् । धेरैजसो म्यानपावरले नेपालीलाई ठगिरहेको वर्तमान परिवेशमा राज्यका तर्फबाट नै रोजगारीका लागि पहल गर्नु र श्रम सम्झौताको तयारी हुनुलाई गलत भन्न मिल्दैन ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully