सत्ता स्वार्थको लोभ कि आत्मालोचना ?

माघ २०, २०८१

पाठक पत्र

Greed for power or selfishness?

नेपालमा विद्यमान दलहरू समग्रमा राजनीतिक मूलधारमा नचलेर गुट–उपगुट खडा गरेर चलिरहेको कटुसत्य हो । गुटगत राजनीति र फुटगत राजनीतिले मुलुकको संविधानको मर्म र भावनालाई आत्मसात् नगरिरहेको जनताले महसुस गरेकै छन् ।

आज जनताको मूल प्रश्न र चासोको विषय पनि यही नै हो । अहिले जनताले मौजुदा राजनीतिक प्रणालीको विकल्प खोजिरहेका छैनन् । अपितु देश र जनताको पक्षमा काम गर्ने राजनीतिक नेतृत्व पर्खिरहेका छन् । त्यसको विकल्प भनेको हिजो देशको अभिभावकीय भूमिका निर्वाह गरेका व्यक्ति हुन् वा सम्मानित पदमा बसेका व्यक्ति अथवा अरू जो कोही योग्य व्यक्ति हुन सक्लान् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देशको अभिभावक भइसकेको पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुनु उचित होइन भन्ने अभिव्यक्ति दिएको सुनियो । एमालेकै केन्द्रीय अध्यक्षले पूर्वराष्ट्रपतिलाई गल लगाएर राजनीतिमा तान्नु उपयुक्त होइन भन्ने अभिव्यक्ति पनि मिडियामार्फत बाहिरिएको छ । यसरी सार्वजनिक रूपमा सार्वभौम नागरिकको अधिकार कुण्ठित हुने गरी अभिव्यक्ति दिँदै हिँड्नु राजनीतिक दलको गुटको रिझाइ भनेर बुझ्न कठिन छैन । लामो समयसम्म राजनीति गरेको र राजनीति गरेकै आधारमा प्राप्त भएको जिम्मेवारी कुशल तवरमा निर्वाह गरेर बहिर्गमन भइसकेपछि पुनः राजनीतिमा सक्रिय हुने, नहुने विषय व्यक्तिको नितान्त निजी विषय हो । गुटगत राजनीतिमा व्यक्तिको पतन र उदय भई नै रहन्छ । समग्र रूपमा देश र जनताको राजनीति नगरेर आफ्नो र गुटको राजनीति गर्नेलाई यस्ता विषयले तनाव दिएको हुन सक्छ ।

राजनीतिकर्मीले जनताको चाहनालाई आत्मसात् गर्ने हो भने आफ्नो मानको खातिर होइन, देश र जनताको इज्जत र प्रतिष्ठाका लागि कालकुट विष पिएर भए पनि पुनः जनतामाझ आउनुपर्छ । एमालेले अँगालेको राजनीतिक दर्शन भनौं वा राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवाद हो । यसका प्रणेता एमालेका तत्कालीन महासचिव मदन भण्डारी हुन् । आज जनताको बहुदलीय जनवादको सिद्धान्त नै अस्पष्ट भइरहेको छ । यस सन्दर्भमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा गुटको नेतृत्व गर्ने गरी नभई समग्र वाम आन्दोलनको नेतृत्व गर्दै राजनेताका रूपमा स्थापित हुने गरी आफ्ना स्वर्गीय पतिको राजनीतिक विरासत थाम्न आउँदा के फरक पर्‍यो ? देश र जनताका लागि हर्षको क्षण नै हुनेछ । ओठेरूपमा खादा, माला, रातो कार्पेट ओछ्याएर होइन अन्तस्करणदेखि नै शुद्ध र भावनात्मक तवरमा उहाँको स्वागत गर्न जनता तयार छन् ।
दीपककुमार ज्ञवाली, कुसुमखोला, पाल्पा

खास योग्यता भएका कुनै पनि व्यक्ति वा समूहले खास उद्देश्य राखेर दल खोल्नु वा राजनीतिमा प्रवेश गर्नु राम्रै हो । हाम्रोजस्तो अव्यवस्थाका कारण थिलथिलो भएको मुलुकका नागरिकका लागि त त्यो झनै आशा जगाउने कुरा हुन सक्छ । त्यही शंकाको सुविधा केही व्यक्ति वा समूहले लिइरहेका पनि छन् । तर यहाँ कस्तो भयो भने नागरिकका आवश्यकता र चाहनाका डंगुर थुप्रिएका थुप्रियै छन्, समाधानका लागि कोही लागिपरेको छैन । हरेक दिनका भाषण जनताकै नाउँमा गरिएका हुन्छन् तर उनीहरूले गरेका काममा भने कतै जनताको साइनो जोडिएको हुँदैन ।
यसै मेसोमा राज्यका प्रमुख, उपप्रमुख भइसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्कने कुरा आइरहेका छन् । आममान्छेका लागि यो अति नै उदेकलाग्दो कुरा हो । जोसँग न कुनै विशेष क्षमता छ, न कुनै उद्देश्य छ, छ भने केवल सत्ताको स्वाद चाखिरहने भोक छ । आलंकारिक नै भए पनि सिंगो मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्दाका बखत सिर्फ सत्ता स्वार्थमा लिप्त आफ्ना भनिएकालाई सघाउनु सिवाय कुनै पनि सम्झनलायक काम तिनका छैनन् । ‘आउट डेटेड’ हरू राजनीतिमा फर्कने कुराले केचाहिँ उपलब्धि हुने रहेछ कुन्नि । जो इतिहासको गर्तमा बिलाइसकेका छन्, तिनीहरूलाई केन्द्रमा राखेर चर्चा गर्नुको कुनै तुक छैन । मिडियाकर्मीहरूले पनि कुन कुरालाई महत्त्व दिने, कुनलाई नजरअन्दाज गर्ने भनेर भेउ पाउन नसकेको हो कि !
रत्नप्रसाद लुइँटेल, पााचखाल–१०, काभ्रेपलाञ्चोक

पाठक

Link copied successfully