संसद्को हिउँदे अधिवेशन माघ १८ बाट सुरु भएको छ । यो अधिवेशन विपक्षी दलहरूको कडा मागका बीच छिटो तय गरिएकामा शंका छैन ।
विपक्षी दलले संसद्को अधिवेशन छिटो नडाके आन्दोलन छेड्ने वा विशेष अधिवेशनका लागि माग गर्ने चेतावनी दिएपछि सरकारले संसद् बैठक आह्वान गरेको हुनुपर्छ । सरकारले यो बीचमा संसद्को अधिवेशन छिटो नबोलाउने मनसायले अध्यादेश ल्याएको हो । रवि लामिछाने प्रकरण र विभिन्न नेतामाथि लागेका भ्रष्टाचारका केस लुकाउने प्रपञ्च आदिका विषय संसद्मा जोडदार उठ्ने र यसको सामना गर्न अप्ठेरो हुन सक्ने आकलन गरेर नै संसद् छिटो नबोलाउने उद्देश्य राखिएको हुन सक्छ । यसबीच अध्यादेशबाटै सरकार चलाउने मनसायले संसद् बोलाउनेतर्फ ध्यान दिइएको थिएन । तर विपक्षीहरूको कडा दबाब सहन नसकेर संसद् आह्वान भएको हुनुपर्छ ।
अधिवेशनको पहिलो दिन नै सत्तापक्ष र प्रतिपक्ष दुवै रक्षा प्रतिरक्षाका लागि खडा भएको देखियो । सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको भन्ने भनाइ लोकतन्त्रमा स्थापित नै छ । सरकार जतिसुकै बहुमतको भए पनि प्रतिपक्षी दल संसद्मा शक्तिशाली नै हुने गर्छन् । केही मात्र सिट संख्या भएका सांसदले समेत तर्कपूर्ण बहस र विचारले सिंगो संसद् हल्लाउने तागत राख्छन् । भलै भोटिङ प्रक्रियामा उसको आवाज पास नहोला तर आमबुझाइमा भने एकल सांसद पनि सरकार र संसद्मा भूकम्प ल्याउन सक्षम हुन सक्छन् । प्रतिपक्षी सबै दल एकजुट भएका छन् भने ठूला दल सम्मिलित सत्तापक्ष त उसै पनि शक्तिशाली छ । यी दुवै शक्तिबीच यसपटक संसद् चालु रहेको अवधिभर घम्साघम्सी नपर्ला भन्न सकिँदैन ।
यसपटकको संसद्मा प्रतिपक्षले अध्यादेश प्रकरणलाई प्रमुख मुद्दा बनाउने सम्भावना छ । बाहिर जे जस्ता मुद्दा देखाए पनि भित्री मुद्दा भने प्रतिपक्षलाई सत्ता गुमाउनुको पीडा, सरकार ढलाउन अनेक खेल खेल्दा पनि सफल नहुनुको पीडा नै हो । अहिलेको धेरै समय संसद्मा जनताका हित र देश विकासका कुरा हुने सम्भावना न्यून छ, सरकार पक्ष र प्रतिपक्षको जुँगाको राम्रै लडाइँ हुने सम्भावना छ । जनसरोकारका मुद्दा, कानुन निर्माण र देशलाई अग्रगतितर्फ लैजानुपर्ने विषय ओझेलमा पारेर सत्ताकै लुछाचुँडी र आरोप प्रत्यारोपमा समय गुजार्नु किमार्थ सही होइन । अतः दुवै पक्षलाई जनतामा थप वितृष्णा सिर्जना हुने गरी संसद्मा प्रस्तुत नहुन र संसद्लाई रणभूमि नबनाउन सचेत जनताका तर्फबाट आग्रह छ ।
– नरनाथ पाण्डे, प्राध्यापक,
मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुर
