वर्तमान नेपाली राजनीतिको अग्रस्थानमा आउने नेताहरूकै समकालीन नाम हो– वामदेव गौतम । आफ्नो राजनीतिको लगभग सबै समय सक्रिय राजनीतिमै बिताएका गौतम बीचमा केही ओझेल परेजस्ता देखिए पनि यतिबेला पुनः चर्चामा आएका छन् ।
तर उनको अहिलेको चर्चा पहिलेजस्तो राजनीतिक नेतृत्वमा पुगेका कारण, निर्वाचन जितेका कारण या त सरकारी निकायको कुनै जिम्मेवारी सम्हालेर त्यसमा सफलता प्राप्त गरेर पाएको स्याबासीका कारण भएको भने होइन । कम्युनिस्ट पृष्ठभूमिका गौतमले २०५३ असोज ४ गते तत्कालीन संसद्को दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित गरेसँगै त्यसमा आपत्ति जनाएर २०५४ फागुन २१ मा आफ्नै नेतृत्वमा नेकपा माले गठन गरेका थिए । उनकै नेतृत्वमा रहेको मालेले २०५६ सालमा भएको निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि गौतम पुनः एमालेमै फर्किएका थिए । नेपालले महाकाली सन्धि गरेको विरोधमा पार्टी फुटाएका गौतमले चुनाव हारेकै कारण पुनः पुरानै पार्टीमा फर्कनुलाई राष्ट्रको हितका लागि पार्टी फुटाएको भनेर अर्थ्याउने कि चुनाव हारेर रित्तो भएपछि आफ्नो राजनीति संकटमा पर्ने देखेर पार्टीमा फर्केको भनेर अर्थ्याउने ? यदि राष्ट्रका लागि योगदान गर्न पार्टी गठन गरिएको हुन्थ्यो भने उनले आफ्नो प्रयास जारी राखेर अर्कोपटक पार्टीलाई जिताएर जनताबाट अनुमोदन गराउन लागिपर्ने थिए । पार्टी गठनको छोटो समयमै छटपटी भएर पुरानै दलमा फर्किएका गौतमको राजनीतिक चञ्चलता त्यहीँबाट सुरु भएको देखिन्छ । उनी पदबिना राजनीतिमा टिक्न नसक्ने नेताका रूपमा चिनिन्छन् ।
निर्वाचन हारेका बेला समेत उनले आफ्नो पहुँचमा रहेका नेतालाई बिन्ती बिसाएर राष्ट्रिय सभामा लैजान पटकपटक दबाब दिइरहे र उनी राष्ट्रिय सभा सदस्य पनि बन्न पुगे । राष्ट्रिय सभामा पुगिसकेपछि आफैंले जान्दाजान्दै पनि संविधानले कल्पनै नगरेको राष्ट्रिय सभाको सदस्यलाई प्रधानमन्त्री बनाउनुपर्ने कुरामा तत्कालीन नेकपा नेताहरूलाई ताकेता गरिरहे ।
तत्कालीन एमालेका नेतामध्ये पार्टीमा र पार्टीका तर्फबाट सरकारमा जाने सौभाग्य प्राप्त गर्ने नेतामा पर्छन्, गौतम । २०७३ जेठ ३ गते तत्कालीन नेकपा माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको सचिवालय सदस्यभित्रै अटाएका गौतम २०७७ मा सर्वोच्चले दुई पार्टी माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि कुनै दलतर्फ नलागी अलग बसेका थिए । उमेरले नेटो काट्दै जानु र राजनीतिमा निष्क्रियजस्तै बनेर बस्नुले गौतमलाई अब सबैले सक्रिय राजनीति छोडेको भनेर बुझ्दै आएका थिए । एक किसिमले गौतम राजनीतिबाट अवकाश लिएर बसेजस्ता पनि देखिन्थे । तर पछिल्लो समय उनी एकाएक कहिले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्ला त कहिले पुरानै पार्टी एमालेमा फर्कने हल्लाले उनी पुनः चर्चामा आएका छन् । उमेरको उत्तरार्ध, आफूसँग बलियो संगठन नहुनु र ढुलमुले प्रवृृत्तिका कारण गौतम न त एमालेमा नै सहजै भित्रिन सकेका छन्, न नेपालले नै उनको अस्वाभाविक मागलाई सम्बोधन गरेर भित्र्याउन सकेका छन् ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
