हामी बिर्ता जग्गाबाट मुक्ति चाहन्छौं

माघ १४, २०८१

पाठक पत्र

We want to get rid of birta land

कान्तिपुर दैनिकको आइतबारको अंकमा भूमि अधिकार अभियन्ता जगत देउजाको अन्तर्वार्ता पढ्न पाउँदा ज्यादै खुसी लाग्यो ।

उहाँले वास्तवमै नेपालको भूमि अधिकार अभियानका लागि ठूलो त्याग, सङ्घर्ष र योगदान गर्नुभएको छ । एक हिसाबले भन्ने हो उहाँको पूरा जीवन नै यसमै बितेको छ । अन्तर्वार्तामा बिर्ता समस्या र यसको समाधानका उपाय मसिनोसँग उहाँले बताउनुभएको छ । तर, हामीकहाँ बिर्ताले किसानलाई पोलेको पीडा ठूलो छ । बिर्ता समाधानका लागि हामीले धेरैपटक स्थानीयदेखि सङ्घीय सरकारका सांसद् एवं मन्त्री र प्रधानमन्त्रीलाई समेत भनिसक्यौं तर, खै त समाधान ? हाम्रो घर बिर्तामा छ । हाम्रो जग्गा बिर्तामा छ । हाम्रो जीविका बिर्तामा छ । हाम्रो प्राण यही बिर्तामा नै जानेछ, किनकि हाम्रो कैयौं पुस्ता यसरी नै बितेर गइसके । यस्तो अन्याय र अत्याचार हामी किसानले भोग्नुपरिरहेको छ । यो अन्तर्वार्ताले पक्कै पनि नीतिगत तहमा बस्ने सरकारी मान्छेलाई बिर्ता समस्या समाधानका लागि ध्यानाकर्षण गराउनेछ भन्ने विश्वास लिएका छौं ।
 प्रेमनाथ अगस्ती, रसुवा

बिर्ता समस्याले थिलथिलो बनाएको हामी किसानमा फेरि ऊर्जा पलाउँदै गएको छ । कान्तिपुरमा भूमिविज्ञ जगत देउजाले भन्नुभयो, ‘जग्गा किसानकै हो, किसानलाई दिनुपर्छ ।’ हो, सरकारले गर्नुपर्ने पनि यही हो । हामी किसानको पुर्खाले भीर, पाखा, पखेरा, झाडी फोरेर अन्न उत्पादन गर्ने बनाएका हुन् । यसरी बनाएको जग्गा पनि उतिबेलाका राजाका आफन्त र राणाहरूले आफ्नो नाममा नापे, पुर्जा लगे । कतिपय हामी अहिले पनि बिर्ताकै जग्गामा घरबास गर्छौं । पुर्जा माग्दा सरकारले दिँदैन । हाम्रा जनप्रतिनिधिहरू ‘कानुनी अधिकार हामीलाई छैन’ भन्दै पन्छिन्छन् । अब, सधैंभरि संघीय सरकारकहाँ जाने हामीसँग न पैसा छ, न समय छ ।
खिलप्रसाद आचार्य, रसुवा

हाम्रो वडामा रहेको ७०० घरधुरीमध्ये ६०० भन्दा बढी त बिर्तापीडित नै छन् । यस्तो भिरालो पाखो, न सिँचाइ छ त अन्य खालको सुविधा नै । हामीले खनीखोस्री जीविकोपार्जन गर्दै आएको जग्गा मालिकका नाममा हुनु र हामी भूमिहीनसरह हुनु ज्यादै दुःखलाग्दो विषय हो । यस सन्दर्भमा कान्तिपुरमा जगत देउजाको लामो अन्तर्वार्ता छापिएको रहेछ, उहाँले जग्गाको पुर्जा किसानलाई दिनुपर्ने कुरा जोड गरेर उठाउनुभएको रहेछ । हामी बिर्ता जग्गाबाट मुक्ति चाहन्छौं । बिर्ता समस्याको समाधान चाहन्छौं । हामीलाई हाम्रो जग्गाको लालपुर्जा चाहिएको छ । अन्यायको जीवन कति समय बाँच्ने ? यस विषयमा अध्ययन गर्नका लागि पटकपटक मन्त्रालयको टिम पनि आएको छ । केही महिनापहिले माननीय मन्त्रीज्यू आफैं नुवाकोट र रसुवा पनि आइपुग्नुभएको थियो । उहाँले आशा र विश्वास दिएर जानुभएको थियो । तैपनि बिर्ता समस्या समाधान गर्ने कुरा अघि बढेन । अस्ति भर्खरै आएको भूमिसम्बन्धी अध्यादेशमा पनि बिर्ताको विषय परेनछ । यसर्थ हजारौं किसानले भोग्दै आएको दुःख मेटाउन सबैको सहयोग र समर्थनका लागि हामी आह्वान गर्छौं ।
चूडामणिप्रसाद गजुरेल, तारकेश्वर, नुवाकोट

पाठक पत्र

Link copied successfully